विराटनगर । कोशी प्रदेश सरकारले सशस्त्र प्रहरी बल बराह बाहिनी मुख्यालय इटहरीलाई विपद् नियन्त्रण कालागि विभिन्न सामाग्री हस्तान्तरण गरेको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज एक कार्यक्रमका बिच सशस्त्र प्रहरी बलका डिआइजी शम्भु सुवेदीलाई सामाग्री हस्तान्तरण गर्नुभएको हो । प्रदेश सरकारले उपलब्ध गराएको सामाग्रीहरूमा आगो नियन्त्रण गर्ने उपकरणहरू रहेका छन् । सशस्त्र प्रहरी बललाई उपलब्ध गराएको सामाग्रीको मूल्य करिब १७ लाख बराबरको रहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका निमित्त सचिव कमल थापाले जानकारी दिनुभयो ।
सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले विपद् नियन्त्रण कालागि जनताको सहयोग र सहकार्य आवश्यक हुने. बताउनुभयो । नीतिगत रूपमा विपद् व्यवस्थापनका कामहरू भए पनि व्यवहारिक रूपमा काम कार्यान्वयन नहुँदा जटिलता हुने गरेको कार्कीले उल्लेख गर्नुभयो । ‘असारमा बाढी आउँछ त्यही बेला विपद् नियन्त्रणको काम गर्छौ, फागुन चैतमा आगलागी हुने मौसम सुरु हुन्छ त्यही बेला आगो नियन्त्रणको लागि काम गर्छौ, यस्तो परिपाटी अन्त्य हुनुपर्छ, उहाँले भन्नुभयो, अब विपद् नियन्त्रण कालागि तिनै तहको सरकारहरूसँग समन्वय गरेर प्रविधिमा आधारित विपद् नियन्त्रणको काम गर्नुपर्छ ।’