विराटनगर । सङ्घीय राजधानी काठमाडौँमा रहनुभएका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहलाई भेटेर एडिबीलगायतका योजना छिटो अगाडि बढाइदिन आग्रह गरेका छन् ।
उपमेयर शिल्पा निराला कार्की, वडा नम्बर २ का अध्यक्षसमेत रहनुभएका भौतिक पूर्वाधार समितिका संयोजक कुमार पोखरेल, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, भौतिक पूर्वाधार महाशाखा प्रमुख इन्जिनियर अर्जुन थापालगायतलाई साथैमा लिएर सहरी विकास मन्त्रालय पुगेका थिए ।
ड्रेन, सडक, प्रादेशिक बसपार्क, फोहोर मैला व्यवस्थापनलगायतका योजना छिटो अगाडि बढाइदिन आग्रह गरे ।
अवसरमा उपप्रधान तथा सहरी विकास मन्त्री सिंहले विराटनगरको विकासका लागि आफू गम्भीर रहेको प्रतिक्रिया दिए । राजनैतिक र आर्थिक क्रान्तिमा विराटनगरको योगदानलाई बिर्सनै नसकिने बताउँदै सिंहले मन्त्रालयका तर्फबाट सहयोग गर्न तयार रहेको उल्लेख गरे । उनले दातृ निकासहरूसित पनि मन्त्रालयका तर्फबाट सहजीकरण गर्ने प्रतिबद्धता जनाए । सो अवसरमा सहरी विकास विभागका योजना निर्देशक रोशन श्रेष्ठ, परामर्शदाता एसईएमईसीका प्रतिनिधिलगायतको समेत सहभागिता रहेको थियो ।