विराटनगर । ग्रामथान गाउँपालिकाको अध्यक्ष पदको लागि हुन लागेको उपनिर्वाचनमा नेकपा (माओवादी केन्द्र) बाट उम्मेदवार बनेका नमोनारायण माझीविरुद्ध फौजदारी कसुरमा मुद्दा चलेको पाइएको छ । उनी विरुद्ध प्रहरीले २०८० चैतमा अभद्र व्यवहारको मुद्दा चलाएको थियो । गाउँपालिका कार्यालयका अनुसार ग्रामथान–१ को रामजानकी मन्दिरका लागि नमोनारायणले बजेट माग गरेका थिए । तर, मागको सुनुवाइ नभएको भन्दै २०८० चैत ११ गते दलबलसहित गाउँपालिकाको कार्यालयमा पुगेर उनले हुल हुज्जत गर्दै तोडफोडको प्रयास गरेका थिए । कर्मचारीमाथि गालीगलौज, कर्मचारीमाथि हातपातको प्रयास गरेको आरोपमा उनीमाथि उजुरी परेको थियो ।
कार्यपालिकाको बैठक चलिरहेका बेला नमोनारायणको समूहले बैठक कक्षमा प्रवेश गरी जनप्रतिनिधि र कर्मचारीलाई अपशब्दसहित अश्लील गालीगलौज, हुल हुज्जत एवं तोडफोडको प्रयास गर्नुका साथै धाक धम्की दिएको भनेर गाउँपालिकाले किटानी जाहेरी दिएपछि प्रहरीले घटनामा संलग्नलाई पक्राउ गरेर मुद्दा चलाएको थियो । नमोनारायणसहित ९ जनाविरुद्ध २०८० साल चैत ३० गते जिल्ला प्रशासन कार्यालय मोरङमा मुद्दा दर्ता भएको थियो ।
मुद्दामा नमोनारायण माझी, विष्णुप्रसाद माझी, राजनारायण भगत, सञ्चितादेवी भगत, तिलकराम माझी, खड्गबहादुर मगर, बिन्दा कुमारी सुतिहार, कल्पना मगर र धीरेन्द्रकुमार भगतलाई प्रतिवादी बनाइएको थियो । प्रशासन कार्यालयले नमोनारायणलाई २५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो भने अन्यका हकमा २ र ३ हजार धरौटी माग भएको प्रशासनले जनाएको छ ।
मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईको इजलासले २०८१ भदौ १७ गते मुद्दाको किनारा लगाउँदै अभियुक्तहरूलाई जरिबाना हुने फैसला सुनाएको थियो । नमोनारायणसहित सञ्चितादेवी, तिलकराम, खड्गबहादुर, बिन्दा कुमारी र कल्पनालाई जनही ३ हजार रुपैयाँ जरिबाना हुने फैसला प्रशासनले सुनाएको थियो ।
विष्णुप्रसाद माझी र राजनारायण भगतलाई २ हजार जरिबाना भयो । धीरेन्द्रकुमारलाई ५ हजार जरिबाना हुने फैसला प्रशासनले गर्यो । तारेख गुजारेका कारण धीरेन्द्रकुमारलाई बढी जरिबाना भएको जिल्ला प्रशासन स्रोतले बतायो ।
गाउँपालिकाका एक कर्मचारीका अनुसार नमोनारायणको समूहले कार्यपालिका बैठक नै प्रभावित पार्ने गरी हुल हुज्जत गर्दै गाउँपालिकामा तोडफोडको प्रयास गरेको थियो । कानुनका विज्ञहरू फौजदारी कसुरमा जरिबाना हुनु सजाय नै भएको बताउँछन् । गाउँपालिकाविरुद्ध हर्कत गरेर फौजदारी कसुरमा मुद्दा खेपेका उनै नमोनारायण अहिले माओवादीबाट त्यही गाउँपालिका अध्यक्षको उम्मेदवार छन् ।
ग्रामथान–१ को वडाध्यक्ष हुँदा पनि विभिन्न योजनादेखि उपभोक्ता समितिसँग मिलेमतो गरेर अनियमितता गरेको आरोप पनि उनीमाथि लाग्ने गरेको छ । तर, नमोनारायण भने आफूले ५ वर्ष वडाध्यक्ष हुँदा गाउँमा विकास र जनताको पक्षमा काम गरेको दाबी गर्छन् । उनले आफूले केही नगरीकन त्यत्तिकै मुद्दा चलाइएको बताए ।
भर्खरै माओवादी प्रवेश गरेका नमोनारायणले टिकट पाएपछि पार्टीभित्र तीव्र असन्तुष्टि छ । नवप्रवेशलाई प्राथमिकता दिएको र योगदान पुर्याउने कार्यकर्तालाई बेवास्ता गरिएको भन्दै असन्तुष्टि चुलिएको हो । नमोनारायणलाई पार्टी प्रवेश गराएर अध्यक्षको टिकट दिलाउन माओवादी नेता, पूर्व मन्त्री एवं प्रतिनिधिसभा सदस्य अमनलाल मोदीले भूमिका खेलेका हुन् । उनको उम्मेदवारीको विषयलाई लिएर माओवादी भित्र तीव्र ध्रुवीकरण देखिएको माओवादी केन्द्रका एक नेताले बताए ।
ग्रामथानको अध्यक्षमा एमालेबाट तुलसीराम विश्वास, कांग्रेसबाट बलराम सरदार, माओवादीबाट नमोनारायण माझी, रास्वपाबाट नवीनकुमार विश्वास, राप्रपाबाट दिनेशकुमार थन्दार (दिवेश), अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)बाट धर्मेन्द्रकुमार चौधरी उम्मेदवार छन् ।
नागरिक उन्मुक्ति पार्टीबाट बुद्धिचन विश्वास, नेकपा (एकीकृत समाजवादी) पार्टीबाट दिलबहादुर विश्वकर्मा, उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट सुरेशकुमार राजवंशी, समावेशी समाजवादी पार्टी नेपालबाट बोधनारायण माझी, नेपाल मजदुर किसान पार्टी (नेमकिपा)बाट पर्शुराम विश्वास थारु, मंगोल नेशनल अर्गनाइजेसनबाट भरत राई, बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीबाट रामकुमार चौधरी, जनमत पार्टीबाट विनोदकुमार माझी, कमल थापा नेतृत्वको राप्रपा नेपालबाट राजु मुसहर र स्वतन्त्र उम्मेदवार नमनारायण चौधरी अध्यक्षको उम्मेदवार छन् ।
२०७९ को निर्वाचनबाट गाउँपालिका अध्यक्षमा कांग्रेसका जयप्रकाश गच्छदार निर्वाचित भएका थिए । असार ३ गते उनको निधन भयो । रिक्त रहेको अध्यक्ष पदका लागि आगामी मंसिर १६ गते उपनिर्वाचन हुँदै छ ।