इटहरी । राष्ट्रिय माध्यमिक विद्यालय इटहरीले ६ शिक्षक र एक कर्मचारीलाई सम्मान गरेको छ । बिहिवार आयोजित कार्यक्रममा सम्मान सँगै ७५ जना विद्यार्थीलाई छात्रवृत्ति रकम वितरण गरिएको हो ।
शिक्षकहरू कुमारी भारती, सावित्रा श्रेष्ठ, सन्दिप बास्तोला, राजकुमार ढकाल, इन्दिरा थापा र डम्बरकुमारी थापा सहित कर्मचारी मधुरलाल चौधरी सम्मानित भएका हुन् ।
विद्यालयको ६९ औं वार्षिकोत्सवको अवसरमा अक्षयकोषको ब्याजबाट एक लाख ३७ हजार ४२ रुपैयाँ बराबरको छात्रवृत्ति रकम वितरण भएको छ । विद्यालयमा अहिलेसम्म ७५ जना दाताले २० लाख ८८ हजार ७७१ रुपैयाँ बराबरको अक्षयकोष स्थापना गरिएको छ ।
६८ औं वार्षिकोत्सवमा १८ लाख ५८ हजार ८६० रुपैयाँको ब्याजबाट ९८ हजार २७३ रुपैयाँको छात्रवृत्ति रकम वितरण गरिएको थियो । प्रधानाध्यापक सरनकुमार बस्नेतका अनुसार एक पूर्व जनप्रतिनिधी र अर्का एक जना पूर्व जनप्रतिनिधीलाई मरणोपरान्त सम्मान गरिएको हो ।
२०४९ सालदेखि २०५९ सालसम्म तत्कालिन हाँसपोसा गाउँ विकास समिति वडा नम्बर १ का वडाध्यक्ष लालबहादुर लुईटेल सम्मानित भए । त्यस्तै २०७४ साल असारमा भएको निर्वाचनबाट निर्वाचित वडाध्यक्ष विष्णुलाल चौधरी मरणोपरान्त सम्मान गरिएको हो ।
वार्षिकत्सवको अवसरमा आर्थिक वर्ष २०८०र०८१ को वार्षिक आय–व्यय विद्यालयका प्रधानाध्यापक बस्नेतले प्रस्तुत गरे । आन्तरिक र बाह्य गरि वार्षिक आम्दानी चार करोड ७२ लाख १८ हजार ८९८ रुपैयाँ र खर्च चार करोड ६६ लाख ४६ हजार ८६० रहेको उनले जानकारी दिए ।
आर्थिक वर्ष २०७९र८० मा पाँच करोड ६२ लाख ९५ हजार ६८६ रुपैयाँ आम्दानी र पाँच करोड ५७ लाख सात हजार ५६८ रुपैयाँ खर्च भएको थियो ।
विद्यालयले चालु शैक्षिक सत्रका लागि तय गरेको वार्षिक नीति तथा कार्यक्रम पनि सार्वजनिक गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कोविदजंग कार्कीले सार्वजनिक बार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरे ।
विद्यालयको शैक्षिक सहित पूर्वाधारको विकासका लागि काम गर्ने सार्वजनिक वार्षिक नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
विद्यालयमा बालविकासदेखि कक्षा १२ सम्म साधारणतर्फ र प्राविधिकमा डिप्लोमा इन सिभिल इन्जिनियर पढाई भइरहेको छ । कुल एक हजार ९२० जना विद्यार्थी अध्ययनरत रहेको माविमा कक्षा ११ र १२ मा शिक्षा, व्यवस्थापन र विज्ञानतर्फ जीव विज्ञान तथा भौतिकशास्त्र पढाई हुने गरेको छ । चालू शैक्षिक सत्रदेखि होटल म्यानेजमेन्टको पनि पढाई हुँदै आएको छ ।