सुनसरी — काठमाडौंको एक होटलमा गत आइतबार मृत भेटिएका दम्पतीको परिवारलाई दुहबी नगरपालिका-८ को कार्यालयले राहतस्वरुप ५० हजार रुपैयाँ हस्तान्तरण गरेको छ । सुनसरी दुहबी-८ रनीगाउँ निवासी ३४ वर्षीय रमेश माझी र उनकी २९ वर्षीया श्रीमती शर्मिला माझी क्यानडाबाट फर्किएको भोलिपल्टै मंसिर ९ गते काठमाडौंको सिनामंगलस्थित जन्मभूमि होटलको बरण्डाको रेलिङमा झुण्डिएको अवस्थामा मृत भेटिएका थिए । वडाध्यक्ष तारिदचन्द्र सरदारसहित वडा कार्यालयको टोली मृतक परिवारका आफन्तलाई भेटेर ५० हजार रुपैयाँ सहयोग रकम हस्तान्तरण गरेका हुन् । मृतक रमेश र शर्मिलाका ६ वर्षका छोरालाई माध्यमिक तहसम्मको शिक्षा निःशुल्क गराउने वडाध्यक्ष सरदारले प्रतिबद्धता जनाएका छन । मृतकका बुबा, आमासँग कुरा गर्दै वडाध्यक्ष सरदारले छोराको निःशुल्क शिक्षाको व्यवस्था गर्ने आश्वासन दिएका हुन् । सन् २०२२ मा क्यानडा गएका उनीहरू २ वर्षपछि नेपाल फर्केका थिए । काठमाडौं ओर्लिएर जन्मभूमि होटलमा बसेका उनीहरू भोलिपल्टै झुण्डिएको अवस्थामा भेटिएका थिए ।