विराटनगर । शनिवार दिउँसो करिब साँढे एक बजेको थियो । विराटनगरको रानी नाका भिडभाड नै थियो । शनिवार प्राय नागरिकहरू आफ्नो नुन तेल जोहोको लागि सीमा क्षेत्र जोगवनी पुग्छन् । नेपालमा भन्दा सस्तोमा सामान पाउने भएपछि सर्वसाधारण घरायसी सामाग्रीका लागि त्यहाँ पुग्नु प्रायको बाध्यता हुन्छ । एक त जोगवनी साँगुरो बजार । नेपाल तर्फको रानी नाका देखि नै भिडभाड हान्छ जोगवनीमा । भिडभाडको कारण धेरैले नेपाल तर्फ नै आफ्ना दुई पाङ्ग्रे सवारी साधन मोटरसाइकलहरू राखेर जान्छन् ।
शनिवार पनि नेपाल तर्फ रानी नाकाको छेउ दक्षिण तर्फ मोटरसाईकलहरुको लामै लाइन नै थिएन । नजिकै चेकजाँचमा बसेका नेपाल प्रहरी र सशस्त्र प्रहरीहरू पनि आफ्नै काममा थिए । सशस्त्र प्रहरीहरू सामान चेक जाँच गर्दै छाड्दै गर्दा मोटरसाइकल पार्किङ गरिएको छेउमा दुई व्यक्तिहरू यता र उति गरी हिँडिरहेका थिए ।
दुई मध्ये एक जना सशस्त्र प्रहरीले चेकजाँच गरेको तर्फ गएर उभियो अर्को व्यक्ति मोटरसाइकल पार्किङ गरिएको छेउमा गएर एउटा मोटरसाइकलमाथि चढेर बस्यो । त्यही क्रममा सीमा नाकामा एकाएक भिड बढ्यो । सशस्त्र प्रहरी लगायतका सुरक्षा निकायहरू आफ्नो काममा व्यस्त हुँदै गर्दा ती मोटरसाइकलमा चढेका व्यक्तिले आफ्नो हातमा भएको चाबी त्यो मोटरसाइकलमा घुसाउन थाले र खोल्ने प्रयास गरे । लाइनमा राखिएको पश्चिम तर्फको मोटरसाइकल नखुले पछि उनले त्यहाँबाट फर्किएर बिचमा रहेको पल्सर मोटर साइकलमा प्रयास गरे ।
त्यो बेलासम्म पनि यो मान्छे मोटरसाइकल चोर नै होला भनेर कसैले अड्कल समेत काट्न सकेनन्, त्यो नियाली रहेका थिए दोलखाबाट जोगवनी घुम्न गएका लीला फुयल । त्यो मोटरसाइकलमा आफ्नो हातको चाबी प्रयोग गर्दै त्यहाँ प्रहरी नजिकै थिए, त्यहाँबाट सुरुमा मोटरसाइकलको चाबी नखुलेको ठाउँमा गएर अर्को पल्सर मोटरसाइकल खोल्न थालेपछि त्यहीँ नजिकै रहेका फुयलले सशस्त्र प्रहरीलाई त्यो बारेमा जानकारी गराए । त्यसको बारेमा जानकारी गराउँदा समेत सशस्त्र प्रहरीले खासै चासो दिएको जस्तो नगरेको उनले सुनाए । ‘यो व्यक्ति मोटरसाइकल चोर जस्तो छ, फुयलले सशस्त्रका ती जवानलाई भने, यसले तीन वटा मोटरसाइकलमा चाबी हालेर चोर्ने प्रयास गरिरहेको छ।’ सशस्त्र प्रहरीलाई त्यो बारेमा जानकारी गराउँदासम्म त्यहीँ रहेको त्यो व्यक्ति लगत्तै जोगवनी तर्फ फरार भएको थियो ।
सशस्त्र प्रहरीले चोरीको बारेमा निगरानी गर्ने काम आफ्नो नभएको बताएको छ । सशस्त्र सीमा सुरक्षा बल रानीका डिएसपी देवराज विष्टले भिडभाड हुने हुँदा धेरै कुरा थाहै नहुने गरेको बताए । ‘कसैले सुराकी दियो भनेँ सोधी खोजी गर्ने हो, उनले भने, अब सबै विषय थाहा पनि हुँदैन, थाहा भइहाले पनि चोरीको विषय नेपाल प्रहरीले हेर्ने हो ।’
सीमा नाकामा नै सशस्त्र बस्छ । सशस्त्रले चेकजाँच गर्ने छेउमै मोटरसाइकलका पार्किङ छ । त्यसको झन्डै १०० मिटर उत्तर तर्फ मात्र नेपाल प्रहरी बस्छ । सशस्त्र प्रहरीले नेपाल प्रहरीलाई देखाउने तर नाकामा नै सशस्त्र प्रहरी हुँदा यस्ता चोरी नियन्त्रणमा खासै चासो गएको देखिँदैन । सूचना दिँदा दिँदै पनि सशस्त्रले त्यस्ता व्यक्तिलाई नियन्त्रणमा नलिने जस्ता गतिविधिले नागरिकले दुख पाउने गरेका छन् । गत असार देखि मङ्सिरको १५ गतेसम्म ६ वटा मोटरसाइकल रानी नाकाबाटै हराएको छ । हराएको मध्ये २ वटा मोटरसाइकल बेवारिसे अवस्थामा प्रहरीले फेला पारेर सवारी धनीलाई फिर्ता गरेको प्रहरीको तथ्याङ्कले देखाउँछ । हराएका अरू चार वटा मोटरसाइकल अहिलेसम्म फेला परेको छैन । हराएको मोटरसाइकलको सम्बन्धमा खोजी भइरहेको प्रहरीले जनाएको छ।
मोटरसाइकल जब चोरी भइसक्छ अनि मात्र नेपाल प्रहरीसम्म यसको बारेमा जानकारी पुग्ने गरेको छ। इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक प्रकाश थापाले मोटरसाइकल चोरी नियन्त्रण गर्ने बारेमा सूक्ष्म निगरानी हुने गरेको बताए । ‘अहिलेसम्म यसरी चोरी हुन्छ भन्ने जानकारी आएको थिएन, हराइसकेपछि मात्र उजुरी आउने गरेको थियो, उनले भने, अब हामी भोली देखि नै चोरी नियन्त्रण कोलागि त्यस ठाउँमा सादा पोसाकमा प्रहरी परिचालन गर्छौँ ।’
सीमा क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको बिचमा समन्वय भएर काम हुनु पर्नेमा अहिलेसम्म त्यस्तो भएको देखिँदैन । दुई सुरक्षा निकाय बिचमा समन्वय नहुँदा त्यसको मार सर्वसाधारणले पाउँदै आएका छन् ।