इटहरी । इटहरीमा रहेको विश्वआर्दश एकेडेमीले पहिलो पटक जर्नल प्रकाशनमा ल्याएको छ ।शनिबार एक कार्यक्रमको आयोजना गरी जर्नल जोभाकलाई विमोचन गरिएको हो ।
पुर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. बिजुकुमार थपलिया, सेडाका कार्यकारी निर्देशक प्रा डा. अर्जुन बराल, क्युएए एसेसमेन्ट कमिटिका टिम लिडर प्रा. डा. प्रदिपचन्द्र गौतम, नारायण भण्डारी, क्षेत्रीय परिक्षा नियन्त्रक डा. डिल्ली प्रसाईले संयुक्त रुपमा जर्नललाई विमोचन गरेका हुन् ।
विगत २१ वर्ष देखि इटहरीमा उच्च शिक्षा अध्यापन गराउदै आएको विश्व आर्दशले स्थानीय क्षेत्रका बहुविषयहरुको अध्ययन अनुसन्धान गरि अनुसन्धान मुलक जर्नल प्रकाशनमा ल्याएको कलेजका प्राचार्य गणेश दुलालले जानकारी दिए ।
उच्च शिक्षा अध्ययनका लागि अनुसन्धान महत्वपुर्ण हुने भन्दै जर्नल प्रकाशनलाई निरन्तरता दिने दुलालले बताए ।
कार्यक्रममा जर्नलको लागि लेख लेख्नेहरुलाई नगदसहित सम्मान गरिएको थियो ।
यस्तै विश्वआदर्श कलेजले क्युएए मान्यताका लागि प्रक्रिया अघि बढाएको पनि कार्यक्रममा जानकारी दिएको छ । क्युएए एसेसमेन्ट कमिटिका टिम लिडर गौतम र भण्डारीसहितको टिम कलेजको निरीक्षणका लागि आएको छ ।
टिमले विभिन्न ८ विधामा १२० सुचकहरुमा निर्धारित मापदण्ड पुगे, नपुगेको अनुगमन गरिरहेको कलेजले जनाएको छ । क्युएएलाई कलेजहरुको स्तरीकरणको मापदण्ड मानिएको छ । विश्वविद्यालय अनुदान आयोगले क्युएए प्रमाणित गर्ने गर्छ । इटहरीमा जनता बहुमुखी क्याम्पसले यसअघि नै क्युएए पाइसकेको छ । कोशी प्रदेशमा आधा दर्जन हाराहारी क्याम्पसहरूले यो मापदण्ड पुरा गरेका छन् ।
तीन हजार दुई सय बढी विद्यार्थी पढ्ने विश्वआदर्श एकेडेमीमा अहिले त्रि. वि. का बीबीएस, बीसीए र एमबीएसका कक्षाहरु सञ्चालन गरिरहेको छ ।
विमोचन कार्यक्रममा सुषमा गोदावरी कलेज इटहरीका प्राचार्य बोधराज नेपाल , इटहरी नमुना कलेजका प्राचार्य धर्म न्यौपाने,जनता बहुमुखि क्याम्पस संचालक समिती अध्यक्ष विकास केसी लगायतका शैक्षिक क्षेत्रमा आवद्ध बौद्धिक व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।