विराटनगर । विराटनगर नर्सिङ क्याम्पसले वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । क्याम्पसमा भएको प्रतियोगितालाई लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानसँग जोडेर आयोजना गरिएको क्याम्पसकी प्रमुख मेनुका भण्डारीले जानकारी दिइन् । अभियानको सुरु दिनमा विराटनगर महानगरपालिका सहित विभिन्न सङ्घ संस्थाहरू मिलेर आयोजना गरेको र्यालीमा सहभागी भएको विराटनगर नर्सिङ क्याम्पसले क्याम्पस मै वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको हो ।
१६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियानको क्रममा यस्ता प्रतियोगिताहरू आयोजना गर्दा यसको महत्त्व र सान्दर्भिकता बढेर जाने भएकोले कलेज स्तरीय कार्यक्रम आयोजना गरिएको भण्डारीले जानकारी दिइन् । विराटनगर नर्सिङ क्याम्पसमा अध्ययनरत बिएनएस र बिएस्सी नर्सिङका विद्यार्थी सहभागी भएको प्रतियोगितामा उत्कृष्ट चार जना पुरस्कृत भएका छन् । ‘हाम्रो ऐक्यबद्धता, लैङ्गिक हिंसा अन्त्यको लागि प्रतिबद्धता’ शीर्षक दिइएको वक्तृत्वकला प्रतियोगितामा स्मृति ज्ञवाली प्रथम भइन् । प्रतियोगिताको द्वितीय, तृतीय र चतुर्थ क्रमशः निश्मा श्रेष्ठ, निकिता चौधरी र कृतिका कटुवाल भए । पुरस्कृत तथा सहभागीलाई क्याम्पसले प्रमाणपत्र प्रदान गरेको छ । प्रतियोगिताको निर्णायक माइती नेपाल विराटनगरका संयोजक विनोद पोखरेल र साझा सवालका लागि साझा मञ्च (कोकन) का अध्यक्ष मञ्जीता उपाध्यायले गरेका थिए । कार्यक्रममा क्याम्पस विद्यार्थी कल्याण समिति, शिक्षक, कर्मचारी र विद्यार्थीहरू सहभागी थिए ।