सुनसरी । भारतसँग सीमा जोडिएको सुनसरीको बर्जु गाउँपालिकामा सञ्चालन गरिएको स्वास्थ्य शिविरमा ७ सय भन्दा बढी स्थानीयले सेवा लिएका छन् ।
कोसी प्रदेश प्रहरी तालिम केन्द्रको ५८ औँ वार्षिक उत्सवको अवसरमा शुक्रवार आयोजित एक दिने निःशुल्क स्वास्थ्य शिविरमा जनरल फिजिसियनसँगै मुटु,छाला,पेट,मधुमेह,थाइराइड र हाड जोर्नी तथा मेरुदण्ड, शिशु तथा बाल रोग समवन्धि विशेषज्ञ सेवा दिइएको थियो । त्यसै गरी दन्त, मुख तथा अनुहार सम्बन्धी विशेषज्ञ सेवा र ल्याब तथा फार्मेसीको सेवा समेत शिविरमा उपलब्ध गराइएको थियो । स्वास्थ्यमा आम नागरिकको सहज पहुँचलाई मध्यनजर गरी ग्रामीण बस्ती लक्षित गरी बर्जुमा स्वास्थ्य शिविरको आयोजना गरिएको प्रदेश प्रहरी तालिम केन्द्र प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अभिनारायण काफ्लेले जानकारी दिनुभयो ।
स्वास्थ्य शिविर बर्जु गाउँपालिकाको कार्यालयका साथै कोसी प्रदेश प्रहरी अस्पताल इनरुवा र विराट मेडिकल टिचिङ हस्पिटल टंकी सिनवारिको सहयोगमा आयोजना गरिएको थियो ।