विराटनगर । झापाको दमकमा निर्माण भएको १८ तले दमक बिजनेस कम्प्लेक्सको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् । प्रधानमन्त्री ओलीले आफ्नो गृह जिल्लामा  खेतमा टावर बनाएको भनेर आलोचना भइरहँदा नेपालकै अग्लो कम्प्लेक्सको उद्घाटन भएको छ ।  ७६ सालमा शिलान्यास गर्दै राष्ट्रिय गौरवको आयोजनाको रूपमा अगाडि बढाइएको  झापाको दमक ३ मा निर्माण भएको ‘दमक बिजनेस कम्प्लेक्स’को  प्रधानमन्त्री ओलीले उद्घाटन गरेका हुन् । 
प्रधानमन्त्रीले ओलीले भने सो कम्प्लेक्सले सो क्षेत्रको विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने बताउँदै आएका छन् । दीर्घकालका लागि सो कम्प्लेक्सले दमक क्षेत्रको विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउने भनेर दाबी गरिरहँदा आलोचना गर्नेहरूले भने कम्प्लेक्स नचल्ने दाबी गर्दै आएका छन् । आज उद्घाटन भएको कम्प्लेक्स पूर्वपश्चिम मुख्य सडकको ताराबारी खण्ड भन्दा केही माथि निर्माण गरिएको छ । 
प्रधानमन्त्री ओलीको निर्वाचन क्षेत्र झापा ५ मा पर्ने सो कम्प्लेक्स प्रधानमन्त्री ओलीकै पहलमा गौरवको आयोजनाका परेको थियो ।  एक अर्ब ३८ करोड १८ लाख चार हजार पाँच सय ६९ रुपैयाँमा लागत सम्झौता भएको परियोजनाको लागत ५ दशमलव ४ प्रतिशत बढेको छ । सहरी विकास तथा भवन निर्माण आयोजना चन्द्रगढीका अनुसार सो कम्प्लेक्स एक अर्ब ४५ करोडमा कम्प्लेक्स निर्माण सम्पन्न  भएको छ । सो कम्प्लेक्सको चिनियाँ कम्पनी जेडसीजीआईआईसी र आशिष् ओम साइराम निर्माण कम्पनी जेभीले  निर्माणको जिम्मा पाएको थियो ।
सहरी विकास मन्त्रालयले कम्प्लेक्स सञ्चालनका लागि विभिन्न कम्पनीहरूलाई आव्हान गर्ने तथा केही प्रवेश शुल्क समेत राखेर त्यसको व्यवस्थापन गरिने जनाएको छ । मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले टावर उद्घाटनपछि व्यापारिक प्रयोजनका लागि बुकिङ खुल्ला भएको बताए ।  
सुरुमा  ‘दमक भ्यु टावर’को नामबाट निर्माण सुरु भएको भए पनि  पछि ‘दमक बिजनेस कम्प्लेक्स’ नामकरण गरिएको थियो । यो टावर १ वर्ष अघि नै निर्माण सम्पन्न भए पनि त्यसको सञ्चालनका सम्बन्धमा सङ्घीय सरकारले नीति बनाउन समय लागेपछि उद्घाटन हुन सकेको थिएन । उद्घाटन नहुँदा यसको बारेमा आलोचना हुने गरेको थियो । 
कम्प्लेक्सको २०७६ असार २७ गते प्रधानमन्त्री ओलीले यसको शिलान्यास गरेका थिए । कम्प्लेक्स एक सय मिटर अग्लो रहेको छ ।  कम्प्लेक्स १८ तला छ । कम्प्लेक्सको ७२ मिटर कङ्क्रिट संरचनाले २८ मिटर भने मेटल फ्रेमको टावर छ ।