सुनसरी । पुष २० गतेदेखि पाँच दिने धरान डे उत्सव हुने भएको छ । धरान उपमहानगरपालिकाले शुक्रबार पत्रकार सम्मेलन गर्दै पुष २० गतेदेखि २४ गतेसम्म धरान डे उत्सव आयोजना गर्ने जानकारी दिएको हो । धरान डेको बिशेष दिन पुष २० गते स्थानीय विदा दिइने पनि उपमहानगरपालिकाले जनाएको छ । धरान डे उत्सव आयोजना गर्न मेयर हर्कराज राई संयोजक र उपमेयर अइन्द्रबिक्रम बेघा सहसंयोजक रहेको मुल समारोह समिति र विभिन्न उपसमितिहरु पनि गठन गरिएको कार्यपालिका सदस्य तथा प्रचारप्रसार समिति संयोजक दिनेश गजमेरले जानकारी दिए ।
धरान डे उत्सव धरान १६ स्थित रंगशालाको दक्षिण पट्टीको खाली मैदानमा आयोजना हुनेछ । धरान डे अवसरमा ५ दिनसम्म विभिन्न साँस्कृतिक, खेलकुद, मनोरञ्जनात्मक तथा साहित्यिक, सांगीतिक कार्यक्रमहरु आयोजना गरिने पनि प्रचार संयोजक गजमेरले जानकारी दिए । यस्तै, उत्सवस्थलमा शैक्षिक, कला साहित्य, खाद्य प्रर्दशनी तथा बिक्री स्टलहरु पनि राखिनेछ । मेयर साम्पाङका अनुसार पुष २४ गतेसम्म उपमहागनरपालिकाले धरान डे मनाउनेछ भने त्यसपछि सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा धरान एक्स्पो कार्यक्रम गर्ने सहमति भएको छ ।
धरान एक्स्पोबारे संघले अलग्गै पत्रकार सम्मेलन गरेर जानकारी दिने जनाएको छ । धरान डे आयोजना अवधिभर विगतमा जस्तै प्रवेश निःशुल्क हुने र स्थानीय, घरेलु उत्पादनहरुको प्रर्दशनी तथा बिक्रीलाई प्राथमकिता दिइने उनले बताए ।