विराटनगर । कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री राम रानाले प्रदेश सरकारले गर्ने लगानी सम्मेलनबाट उद्योगी व्यवसायीको धेरै समस्या समाधान हुने बताएका छन् । साेमबार विराटनगरमा एभिन्यूज टेलिभिजनले आयोजना गरेको कार्यक्रममा लगानी सम्मेलनबाट नै धेरै खालका उद्योग क्षेत्रमा देखिएका बाधाहरु हटाउने गरी नीति नियम बनाउन प्रदेश सरकार लागेको जानकारी दिए । मन्त्री रानाले भने प्रदेशमा लगानी भित्र्याउन सरकारले लगानी सम्मेलन गर्दैछ, यही सम्मेलनसम्ममा नै प्रदेशको नीतिका कारण परेका अफ्ट्याराहरु फुकाउने तयारीमा सरकार रहेको छ । 

आर्थिक मामिला मन्त्री रानाले कोशी प्रदेशभित्र स्वदेशी कच्चा पदार्थमा आश्रित उद्योगहरुमा कुनै समस्या नरहेको भएपनि आयातित कच्चा पदार्थमा आश्रित उद्योगहरुमा भने केही समस्या देखिएको बताए । उनले कोशी प्रदेशभित्र कृषि, पर्यटन र आइटीमा आधारित उद्योगहरुको सम्भावना उच्च रहेको बताए । कोशी प्रदेशका लागि कृषि क्षेत्र र यसमा आधारित उद्योगहरु नै अर्थतन्त्रको मेरुदण्ड बन्ने उनको भनाइ छ । विराटनगर लगायतका क्षेत्रमा रहेका पुराना उद्योगहरुलाई अब परम्परागत हिसाबले सञ्चालन गर्न सक्ने अवस्था कम रहेको उनको भनाइ छ ।