विराटनगर । कोशी प्रदेशमा बेरुजु गत वर्षको तुलनामा करिब १२ प्रतिशतले बढेको तथ्य बाहिर आएको छ । कोशी प्रदेश सार्वजनिक लेखा समितिले शुक्रवार विराटनगरमा गरेको छलफलमा बेरुजुको ग्राफ बढेको पाइएको हो । महालेखा परीक्षकले निकालेको कोशी प्रदेशको छैटौँ प्रतिवेदनले गत वर्षको तुलनामा चालु वर्षमा बेरुजु १२ दशमलव ४ प्रतिशतले बढेको सार्वजनिक गरेको हो । महालेखा परीक्षक कार्यालयका निर्देशक शिवप्रसाद आचार्यले नियमित गर्नु पर्ने बेरुजु ८३ प्रतिशत रहेको बताए ।
महालेखाको छैटौँ प्रतिवेदनमा असुल गर्नु पर्ने बेरुजु १४  करोड ७१ लाख ४० हजार अर्थात् कुल बेरुजुको ११  दशमलव १७ प्रतिशत रहेको छ । नियमित गर्नु पर्ने १ अर्ब ९ करोड ४० लाख ४७ हजार अर्थात् कुल बेरुजुको  ८३ दशमलव ०३ प्रतिशत रहेको महालेखाको छैटौँ प्रतिवेदनले औँल्याएको छ ।  अनियमित भएको ३४ करोड ५२ लाख १ हजार,  प्रमाण कागजात पेस नभएको ७५ करोड ८८ लाख ४६ हजार तथा पेस्की ७ करोड ६४ लाख २३ हजार बेरुजु  औल्याईएको छ।  सरकारी कार्यालयको बेरुजु १ अर्ब २२ करोड ९० लाख ८२ हजार र समिति तथा अन्य संस्थाहरूको बेरुजु ८ करोड ८५ लाख २८ हजार सहित कुल १ अर्ब ३१ करोड ७६ लाख १० हजार बेरुजु रहेको औल्याईएको छ। यसरी लेखा परीक्षण गरिएका प्रदेश मन्त्रालय तथा निकाय १८० वटाको ४७ अर्ब ९३ करोड १ लाख १५ हजारको बेरुजु १ अर्ब २२ करोड ९० लाख ८२ हजार देखिएको छ। यो बेरुजु २.५६ प्रतिशत हो । समिति तथा अन्य संस्थाहरू १८ वटाको ४ अर्ब ८५ करोड ७० लाख १९ हजार लेखा परीक्षण हुँदा ८ करोड ८५२८ हजार बेरुजु अर्थात् १ दशमलव ८२ प्रतिशत हुन आएको महालेखाले जनाएको छ । 
कोशी प्रदेशमा  हालसम्मको बेरुजु प्रदेश सरकारी कार्यालय र समिति तथा अन्य संस्था तर्फ ५ अर्ब ५८ करोड ४ लाख ७ हजार रहेको छ । अद्यावधिक बेरुजु गत वर्षभन्दा १२ दशमलव ४ प्रतिशतले बढेको छ।  गत वर्षसम्मको बाँकी ४ अर्ब २६ करोड २७ लाख ९७ हजार रहेकोमा चालु वर्षमा १ अर्ब ३१ करोड ७६ लाख १० हजार बेरुजु रहेको छ । अहिलेसम्म ७० करोड ५ लाख ९७ हजारको मात्र सम्परीक्षण भएको छ।