सुनसरी । धरान स्थापनाको १२४ वर्ष पुगेको अवसरमा शनिवार देखी पाँच दिने ‘धरान उत्सव’ सुरु भएको छ ।
प्रत्येक वर्ष पुस २० गते मनाउने गरिएको धरान उत्सव यस पटक पाँच दिनसम्म मनाउने यसअघिनै घोषणा गरिएको थियो ।
‘घुम्न जाऔँ धरान’ नारासहित शनिवार सुरु भएको धरान उत्सवको ८८ वर्षीय ज्येष्ठ नागरिक काजीमान गुरुङले दीप प्रज्वलन गरी उद्घाटन गरेका छन् । उत्सवको पहिलो दिन स्थानीय सांस्कृतिक र पर्यटन प्रवर्द्धन गर्न सांस्कृतिक झाँकी निकालिएको छ ।
झाँकीले नगर परिक्रमा गर्दै धरान रङ्गशालासम्म पुगेको थियो । धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्क साम्पाङको नेतृत्वमा आयोजित धरान उत्सवमा धरानमा योगदान पुर्याएका विभिन्न व्यक्तिहरूलाई सम्मान गरिएको छ ।
उत्सवमा शैक्षिक प्रदर्शनी, कला साहित्य कार्यक्रम, खाद्य र पुष्प प्रदर्शनी तथा बिक्री कक्ष राखिएका छन् ।
उत्सव अन्तर्गत आइतबार साइक्लिङ र साहित्य सम्मान कार्यक्रम, सोमबार इस्टर्न सिंगिंङ सुपर स्टार सिजन–१ र लोकदोहोरी कार्यक्रम राखिएको छ । मङ्गलवार वाकाथून, डोरी तान र छेलो हान्ने कार्यक्रम रहेको प्रचारप्रसार संयोजक दिनेश गजमेरले जानकारी दिए । कार्यक्रमको अन्तिम दिन बुधवार समापन कार्यक्रम गरिनेछ ।
उत्सवको लागि नगरप्रमुख संयोजक र उपमेयर अइन्द्रबिक्रम बेघा सहसंयोजक रहेको मूल समारोह समिति र विभिन्न उपसमितिहरू पनि गठन गरिएको गजमेरले जानकारी दिए ।