विराटनगर । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले आफ्नो इकाईहरूमा साधारण सभालाई तीव्र बनाएको छ ।  धेरै सदस्यहरू हुँदा साधारण सभा गर्न सदस्यसम्म नै पुग्नु पर्ने भएकोले हरेक इकाईहरूमा साधारण सभा हुँदै आएको छ । शुक्रवार मात्र १० वटा सेवा केन्द्रहरूको  साधारण सभा  गरेको सहारा नेपालले शनिवार १९ वटा सेवा केन्द्रमा साधारण सभा सम्पन्न गरेको छ ।  शुक्रवारको साधारण  सभामा बुट्टाबारी, गोलधाप, कुञ्जीवारी, खुदुनावारी, बुधबारे, चारआली, विराटनगरको पुष्पलाल चोक, उर्लाबारी, पथरी र तरहरामा वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गरिएको छ। सहारा नेपालले शनिवार मङ्गलवारे इलाम, राँके, फिदिम, इलाम, नयाँ बजार, थर्पु, याशोक, रवि, चक्रघट्टी, इनरुवा, बेल्टार, रामपुर, नेपालटार, गाईघाट, धरान, कालाबन्जार, चुलाचुली र कटारीमा साधारण सभा सम्पन्न गरेको छ । यस्तै सहारा नेपालले आइतबार विभिन्न इकाईहरू मार्फत २१ सेवा केन्द्रको साधारण सभा गर्ने जनाएको छ। 
सहारा नेपालको आर्थिक वर्ष २०८०/०८१ मा कुल पुँजी तथा दायित्व १६ अर्ब ८३ करोड ३३ लाख ३६ हजार ४१० रुपैयाँ रहेको छ। शेयर पुँजी १ अर्ब ७६ करोड ८६ लाख १२ हजार ७ सय रहेको संस्थाको वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ। निक्षेप १२ अर्ब ७५ करोड ३७ लाख ६३ हजार २०८ रुपैयाँ रहेको छ भनेँ ऋण लगानी १० अर्ब ९३ करोड ५४ लाख ६१ हजार ३९८ रुपैयाँ रहेको जनाइएको छ। सहारा नेपालको आम्दानी १ अर्ब ९१ करोड ५७ लाख ३७ हजार हुँदा खर्च १ अर्ब ८० करोड ६३ लाख २१ हजार रहेको छ । संस्थाको वार्षिक खुद मुनाफा १० करोड ९१ लाख १५ हजार गरेको प्रतिवेदनमा  उल्लेख गरिएको छ ।  संस्थाका सदस्य सचिव महेन्द्रकुमार गिरीले प्रस्तुत गरेको प्रस्तावित नीति तथा कार्यक्रममा शेयर पुँजी, जगेडा कोष, बचत, ऋण प्रवाहको अवस्था उल्लेख गरिएको छ। संस्थामा आबद्ध सदस्यहरू मध्ये करिब ९२ प्रतिशत महिला सदस्य रहेको  गिरीको प्रतिवेदनमा उल्लेख छ । संस्थाले तरलाको व्यवस्थापन गरेको, भाखा नाघेका ऋण नियन्त्रण, सदस्य स्वास्थ्य सुविधा, गरिबी निवारण (लघुवित्त) सेवा सञ्चालनमा रहेको समेतको प्रतिवेदनमा जानकारी गराइएको छ ।
WhatsApp Image 2025-01-03 at 3.18.20 PM (1)
स्वच्छ जीवन स्वस्थ भान्से अभियान
सहारा नेपालका अध्यक्ष हरिबहादुर राजवंशीले प्रस्तुत गरेको प्रतिवेदनमा संस्थाले विद्युतीय चुलो जडानका लागि हरित ऊर्जामा केन्द्रित हुने भनिएको छ । स्वच्छ जीवन स्वस्थ भान्से हाम्रो अभियान भन्ने अभियानका साथ सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले नेपाल सरकार वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रसँगको सहकार्यमा आफ्ना सदस्यहरूलाई विद्युतीय चुलो प्रवर्द्धन गर्न हरित ऊर्जामा लगानी कार्यक्रम सञ्चालनमा ल्याएको छ। युवा सदस्य निर्माण अभियान अन्तरगत थ्रीजीरो क्लबमा समावेश गराई क्षमता अभिवृद्धि  कार्यक्रम अन्तरगत १५ हजार भन्दा बढी युवालाई सदस्यता प्रदान गर्ने सहाराको योजना रहेको प्रतिवेदनमा भनिएको छ ।  सहारा नेपालले गत  आर्थिक वर्षमा सामाजिक सुरक्षा अन्तरगत ज्येष्ठ सदस्य, एकल महिला पुरुष, १ हजार १८६जना, मृत्यु भएर राहत तथा ऋण मिनाहा ५५१ जना, स्वास्थ्य उपचार सेवा ३ हजार ४४४ जनालाई सेवा दिइएको उल्लेख गरिएको छ। १० हजार ७७९ जना सदस्यलाई ३१ करोड ४६ लाख ६३ हजार २५६ रुपैयाँ सहयोग गरेको जनाएको छ । 
विराटनगर  इकाई अन्तरगतका धेरै सेवाकेन्द्रहरुको साधारण सभा सम्पन्न भएको अनुगमन अधिकृत ओम साहले जानकारी दिए । पुष्पलाल चोक सेवा केन्द्रका प्रमुख दिल कुमारी राउतले सञ्चालन गरेको   पुष्पलाल चोक सेवा केन्द्रको साधारण सभा कार्यक्रमको प्रमुख अतिथि  विराटनगर महानगर पालिकाका वडा नम्बर ३ अध्यक्ष वासु बहादुर बस्नेत रहेका थिए । बस्नेतले सहारा नेपालले समुदाय स्तरमा गरेको कामको प्रशंसा गरे । कार्यक्रममा सञ्चालक समितिका वरिष्ठ उपाध्यक्ष हरि प्रसाद निराैला सदस्य नर्वदा सङ्ग्रौला सहभागी थिए ।