विराटनगर  ।  विराट एक्स्पोमा २६८ स्टल रहने गरी तयारी सुरु भएको  छ ।  उद्योग सङ्गठन मोरङको आयोजनामा आगामी माघ ११ देखि २० गतेसम्म विराट एक्स्पो २०२५ गर्न लागेको हो।  ‘डिजिटल कोशीः नवप्रवर्तन र लगानी बिचको सेतु’ नाम दिएर एक्स्पोको तयारी रहेको आयोजक उद्योग सङ्गठन मोरङले जनाएको छ । विराटनगरको डिग्री क्याम्पस परिसरमा हुने एक्स्पोमा २६८ वटा स्टल रहने छन् । विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरी विराट एक्स्पो मूल आयोजक समितिका संयोजक भोलेश्वर दुलालले  एक्स्पोमा स्टार्टअप भिजन कोसी   रोजगार कोसी, व्यावसायिक सेवा प्रदायक, सूचना, शिक्षा तथा डिजिटल प्रविधि मेलाको मुख्य आकर्षक रहने जानकारी दिए । अटोमोबाइल्स, औद्योगिक, कर्पोरेट, कृषि, पर्यटन, खाद्य र प्रायोजक गरी ९ वटा पेभिलियन रहने जानकारी दिइएको छ। 

एक्स्पोमा उद्यमशीलता विकासको सन्दर्भमा नीतिगत, कानुनी र प्रक्रियागत विषयमा सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारका साथै विषयगत विज्ञहरू र बहुपक्षीय सरोकारवालाहरूको सहभागितामा छलफल हुने आयोजक संस्था उद्योग सङ्गठन मोरङका अध्यक्ष राकेश सुरानाले बताए । 

रोजगार कोसी पेभिलियन अन्तर्गत युवाहरूलाई करिअर काउन्सिलिङ,  हस्पिटालिटी, आइटी र इलेक्ट्रिकलका क्षेत्रमा एक्स्पो अवधिमा १ हजार ८ सय जनालाई प्रत्यक्ष तालिम दिइने उनले जानकारी दिए ।   एक्स्पोलाई कोसी प्रदेश सरकार, विराटनगर महानगरपालिका, नेपाल उद्योग वाणिज्य महासङ्घ र नेपाल उद्योग वाणिज्य महासङ्घ कोसी प्रदेशले प्रवर्द्धन गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।