सुनसरी । कोसी प्रदेश सरकारले २०८२ लाई कोसी पर्यटन वर्षको रूपमा मनाउने निर्णय गरेको छ । पर्यटन सम्बन्धी नीति निर्माण, संरचना र पूर्वाधार व्यवस्थापन, गन्तव्यहरूको खोजी तथा प्रचारप्रसार गरी आन्तरिक र बाह्य पर्यटक आकर्षित गर्न पर्यटन वर्ष मनाउन लागिएको हो ।

प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता, ऐतिहासिक महत्त्व, हिमशृङखला, जल र पर्यापर्यटनको अत्यन्तै सम्भावना भए पनि कोशीका गन्तव्यहरूमा आधारभूत पूर्वाधार सुविधाको अभाव छ । सगरमाथा, मकालु, कञ्चनजंगा जस्ता विश्व प्रसिद्ध हिमशृङखलादेखि कोसी टप्पु वन्यजन्तु आरक्ष, सप्तकोसी, भेडेटार र एकै ठाउँमा २८ जात प्रजातिका  गुराँस पाइने क्षेत्र हो कोसी प्रदेश । संसारको सबैभन्दा होचो स्थान झापाको कचनकवलदेखि विश्वकै सर्वोच्च शिखर सगरमाथा यहीँ छन् । ताप्लेजुङको पाथीभरा, धनकुटा, सुनसरी र उदयपुरको संगम सप्तकोसीमा रहेको खुवालुङ, छिन्ताङ्ग भगवती, वराहक्षेत्र र हलेसी जस्ता क्षेत्र धार्मिक पर्यटक लोभ्याउने प्रमुख केन्द्र हुन् । यी सबै क्षेत्रमा योजनाबद्ध किसिमले प्रचारप्रसार गर्न सके पर्यटकको ओइरो लाग्ने होटेल एसोसिएसन, भेडेटार का सचिव रमेश श्रेष्ठ बताउँछन् । भोजपुरको मुन्दुम पदमार्ग, संखुवासभा, सोलुखुम्बु, ताप्लेजुङ र धनकुटाका विभिन्न झरना, हिमताल, कुण्ड, पोखरी तथा सिमसारले यहाँका पर्यटकीय स्थलमा थप आकर्षण प्रदान गरेका छन् ।

यी नै पर्यटकीय स्थलहरूमा थप सम्भावनाको खोजी, पूर्वाधार सुविधा विस्तार, व्यवस्थापन र प्रचार प्रसारका लागि कोसी पर्यटन वर्ष घोषणा गरिएको हो । पर्यटकीय गन्तव्यमा सूचीकृत नगरिएका र प्रचारप्रसारमा नआएका अन्य धेरै स्थलहरू छन् जसले कोसी प्रदेशको प्राकृतिक, धार्मिक, सांस्कृतिक, ऐतिहासिक र सामाजिक महत्त्व राख्छन् । यहाँका पर्यटकीय क्षेत्रसम्म पुग्नका लागि सडक, पुल र यातायातको पहुँच छैन । पहाडी र हिमाली क्षेत्रका पर्यटकीय स्थलसम्म जाने आउने सडक, गुणस्तरीय होटेल र होमस्टे सेवाको अभाव रहेको भोजपुरका स्थानीय रिपेश भुजेलले बताए । पर्यटकीय स्थलहरू दूर दराजमा छन् । त्यस्ता ठाउँमा स्वास्थ्य सेवा र औषधोपचारको व्यवस्था छैन । आगन्तुकहरूलाई सानातिना स्वास्थ्य समस्या परे तत्काल उपचार पाउन गाह्रो छ ।

सुरक्षाको भरपर्दो व्यवस्था नहुँदा पर्यटकहरू ढुक्क भएर घुमफिर गर्ने अवस्था नरहेको तेह्रथुम वसन्तपुरका स्थानीय श्रीप्रसाद कार्कीको भनाई छ । कुनै पनि ठाउँ जान र घुम्न त्यसका बारेको जानकारी पाउनु पर्छ । तर कोसी प्रदेशमा रहेका पर्यटकीय स्थलहरूको बारेमा देशभित्र र बाहिर पर्याप्त प्रचारप्रसार हुन नसकेको पाथीभरा क्षेत्र विकास समिति ताप्लेजुङका अध्यक्ष रक्की थेबेले बताए । पर्यटकीय क्षेत्रमा यातायात, पूर्वाधार विकास, गुणस्तरीय होटेल, होमस्टे सेवा, स्वास्थ्य र सुरक्षा व्यवस्थापन तथा प्रचार प्रसारका लागि प्रदेश सरकार, स्थानीय तह र निजी क्षेत्रको साझेदारी आवश्यक छ ।