विराटनगर । उद्योग सङ्गठन मोरङको आयोजनामा माघ ११ देखि २० गतेसम्म हुने आठौँ संस्करणको विराट एक्स्पोले नयाँ लगानीकर्ताले उद्योग व्यवसाय सञ्चालन गर्दा अपनाउनु पर्ने गुणस्तरीय व्यवस्थापन प्रणालीका बारेमा जानकारी दिने  भएको छ। 
उद्योग सङ्गठन मोरङले सुरु गरेको क्युसेक व्यवस्थापन मापदण्ड प्रणालीको सुरुवाती चरण अन्तर्गत एक्स्पो स्थलमा गुणस्तरीय व्यवस्थापन प्रणाली र स्वः परीक्षणको व्यवस्था गर्न लागिएको हो । 
माघ दोस्रो सातादेखि विराटनगरको डिग्री क्याम्पस परिसरमा सुरु हुने एक्स्पोमा उद्योगी व्यवसायीले आफ्नो उद्योग, औद्योगिक प्रतिष्ठानहरूको गुणस्तर मापदण्ड प्रणाली अनुसार कस्तो अवस्थामा छ भनी स्वगुणस्तर परीक्षण हुने भनिएको छ। अनुपालना गर्नु पर्ने प्रावधानहरूको पालना भएको छ छैन लगायत समग्र आफ्नो उद्योगको अवस्था एवं क्षमताका बारेमा स्वः गुणस्तरीय व्यवस्थापन प्रणालीको परीक्षण गर्न सक्ने उद्योग सङ्गठनका वरिष्ठ उपाध्यक्ष नन्दकिशोर राठीले जानकारी दिए ।
एक्स्पो अवधिमा डिजिटल प्लेटफर्म मार्फत मोबाइलको प्रयोग गरी आफ्नो उद्योगको व्यवस्थापकीय क्षमताको आँकलन गर्ने र त्यसको नतिजा तुरुन्त प्राप्त गर्ने व्यवस्था एक्स्पोले मिलाइएको छ । यो स्वः परीक्षण नतिजाले गुणस्तर मापदण्डको प्रमाण पत्र प्राप्त गर्न के के गर्नु पर्दछ, कुन कुन विषयमा क्षमता विकास गर्नु पर्दछ भन्ने बारे जानकारी उपलब्ध गराउने छ । यो प्लेटफर्म सङ्गठनले सुरु गरेको क्युसेक व्यवस्थापन मापदण्ड प्रणालीको प्रारम्भिक चरण भएको उद्योग सङ्गठनले जनाएको छ ।