सुनसरी । आगामी वर्ष २०८२ साललाई ‘पर्यटन वर्ष’ घोषणा गरेको कोसी प्रदेश सरकारले त्यसको तयारी सुरु गरेको छ ।
गत सेप्टेम्बर २७ अर्थात् विश्व पर्यटन दिवसको अवसरमा प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ‘कोसी प्रदेश पर्यटन वर्ष २०८२’ घोषणा गरेका थिए । सोही निर्णय बमोजिम प्रदेश सरकारले बिहीबार पहिलो बैठकको आयोजना गरेको छ ।
मुख्यमन्त्री हिक्मत कुमार कार्कीको उपस्थितिमा सुनसरीस्थित कोश टप्पु वन्यजन्तु आरक्षको कार्यालयमा आयोजित मूल आयोजक समितिको पहिलो बैठकले पर्यटन वर्षको तयारी स्वरूप प्रदेशभरका पर्यटन क्षेत्रको पहिचान गरी त्यसको प्रवर्द्धनमा अघि बढ्ने निर्णय गरेको छ । बैठकले कोसी टप्पुबाट सुरु बैठक प्रदेशका हरेक जिल्लामा आयोजना गरिने निर्णय पनि गरेको छ ।
पर्यटन वर्ष २०८२ मा १५ लाख बढी पर्यटक भित्राउने लक्ष्य रहेको छ ।
पर्यटन वर्ष २०८२ मा भारत, चीन, बङ्गलादेश र भुटानका पर्यटक कोसी प्रदेशमा भित्राउने प्रदेश सरकारले लक्ष्य लिएको पर्यटन बन तथा वातावरण मन्त्री सदानन्द मण्डलले जानकारी दिए । यसअघि पर्यटन वर्ष २०८२ को प्रदेश सरकारले सरोकारवाला निकायहरूसँग समन्वय सुरु गरेको थियो ।
‘रमणीय कोसी’ भन्ने नाराका साथ आगामी वर्ष २०८२ लाई कोसी पर्यटन वर्ष घोषणा गरेको प्रदेश सरकारले स्थानीय तह, सुरक्षा निकाय तथा सरोकारवाला निकाय बिच समन्वय तथा अन्तरक्रिया गरेको थियो ।
पर्यटन वर्षका लागि ८२ पर्यटकीय गन्तव्यको सूची पनि तयार गरेको प्रदेश सरकारले स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखहरूलाई तयारीमा लाग्न आग्रह गरेको छ ।