सुनसरी । जलेका बिरामीहरुको उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छुट्टै बर्न सेन्टर सञ्चालनमा ल्याइएको छ । 

बर्न सेन्टरको स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले बिहीबार उद्धघाटन गरेका छन् । आगलागी वा अन्य कुनै दुर्घटनामा जलेका बिरामीहरुको उपचारका लागि प्रतिष्ठानले काठमाडौं उपत्यकाबाहिर पहिलो पटक बर्न सेन्टर सञ्चालन ल्याएको जनाएको छ । नेपालका ८ वटा अस्पतालमा छुट्टै बर्न अस्पताल सञ्चालनमा ल्याउने यसअघि नै घोषणा गरेका मन्त्री पौडेलले प्रतिष्ठान परिसरमा निर्माण गरिएको २५ शय्या क्षमताको बर्न सेन्टरको उद्धघाटन गर्दै विपन्नलाई नि:शुल्क उपचारको तयारी भैरहेको बताए ।

काठमाडौंको किर्तिपुरबाहेक सातै प्रदेशमा बर्नको छुट्टै उपचार सेवा सञ्चालन गर्ने उद्देश्यअनुसार कोशी प्रदेशको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिहीबारबाट सेवा सुरु गरिएको मन्त्री पौडेलले बताए । उनले बर्न सेन्टरसँगै सातै प्रदेशमा क्यान्सरको उपचार सेवा बिस्तार गर्ने उद्देश्यअनुसार प्रतिष्ठानमा २० बेडको छुट्टै अंकुलोजी सेवा र फार्मेसी भवनको पनि उट्घाटन गरेका छन् ।