सुनसरी । जिल्ला अस्पताल सुनसरी इनरुवामा वृहत आँखा शिविरको आयोजना गरिएको छ ।  इनरुवा नगरपालिकाको कार्यालय र इनरुवा अस्पतालको समन्वयमा ईनर ह्रवील क्लब अफ पाटनले आइतबार एक दिने निःशुल्क आँखा शिविरको आयोजना गरेको हो । 

माट्रिका आँखा केन्द्र पुरानो बानेश्वरको प्राविधिक सहयोगमा आयोजित आँखा शिविरमा ३ सय बढीले आँखा जाँच गराएको आयोजकले जनाएको छ । 

शिविरमा आँखा जाँच गराएका बिरामी मध्येबाट मोतिविन्दु भएकाहरुको इनरुवामै निःशुल्क शल्यक्रियाको समेत बन्दोवस्ती मिलाइएको छ । 

आयोजक ईनर ह्रवीलकी अध्यक्ष बिजयलक्ष्मी शाक्यले शिविरमा बढीभन्दा बढी बिरामीको आँखा जाँच गर्ने लक्ष्य रहेको बताइन् ।

 सामाजिक क्षेत्रमा काय गर्दै आएको ईनर ह्रवील क्लबलाई काठमाडौं बाहिर लगेर समेत दुरदराजमा सेवा प्रदान गर्ने उद्देश्यका साथ इनरुवामा आँखा जाँच तथा शल्यक्रिया शिविरको आयोजना गरिएको शाक्यले बताइन । 

संस्था अध्यक्ष शाक्यले इनरुवा नगरपालिका सँगको समन्वयमा आयोजना गरिएको आँखा शिविरबाट कम्तिमा समेत दुई समेत मोतिविन्दुका बिरामीले लाभ उठाउने बताइन् । शाक्यले मोतिविन्दुका बिरामीको शल्यक्रियाकालागि इनरुवाकै कोशी आँखा अस्पताल प्रा.लि.मा बन्दोवस्ती मिलाइएको बताइन । 

आयोजकका अनुसार २ सय बढी बिरामीको निःशुल्क शल्यक्रिया गरिएको छ । शिविरमा मोतिविन्दु भेटिएका बाँकी बिरामीको हकमा भोलि समेत शल्यक्रिया गरिने छ । 

शिविरलाई संयोजन गरेको इनरुवा नगरपालिकाले दशवटै वडावासीलाई लक्षित गरी आँखा जाँचको व्यवस्था मिलाइएको जनाएको छ । नगर प्रवक्ता तथा वडा नम्बर ६ का अध्यक्ष सुमन थापाले ईनर ह्रवील क्लब सँग प्याकेजमा भएको सहमति बमोजिम पहिलो चरणको आँखा जाँच शिविरको आयोजना गरिएको जनाए ।  थापाले बढीभन्दा बढी नगरवासीले सेवा लिउन भन्ने उद्येश्य साथ शिविरमा नगरपालिकाले सहयोग गरेको बताए । उनले आयोजक ईनर ह्रवील र नगरपालिका बिच एक वर्ष सम्म नगरभित्र विभिन्न सामाजिक कार्य गर्ने र गराउने गरी सहमति बनेको समेत बताए । 

थापाले शिविर लगायतका सामाजिक कार्यमा कोही कुनै संस्था आएर सहयोग गर्न इच्छुक भएमा नगरवासीको हीतलाई मध्यनजर गरी समन्वय र सहकार्य गर्न तयार रहेको समेत बताए ।