इटहरी । इटहरीस्थित बुढी गंगाजमुना मुक्तिघाटमा विद्युतीय दाहसंस्कार स्थल निर्माणको विषय चर्चामै सीमित भएको छ । आर्थिक वर्ष २०८०।०८१ मा निर्माण सक्ने गरी कोशी प्रदेश सरकारको वन, पर्यटन तथा वातावरण मन्त्रालय र इटहरी उपमहानगरपालिका बिच सम्झौता भएको थियो । 

करिब ३ करोड ५० लाखको अनुमानित लागतमा मन्त्रालयले ७० प्रतिशत र इटहरी उपमहानगरले ३० प्रतिशत लगानी गर्ने भनिएको थियो । 

सम्झौता अनुसार निर्माण सम्पन्न हुनु त परको कुरा सम्बन्धित मन्त्रालयबाट योजना नै आउट भएको छ । बजेट विनियोजन भएको वर्ष २०८०।०८१ मा प्रक्रिया नै अगाडी बढ्न नसकेपछि बजेट फ्रिज भएको थियो भने हाल चालु वर्षमा मन्त्रालयले विद्युतीय दाहसंस्कार स्थल बनाउने योजना नै हटायो ।

चालु वर्षमा विद्युतीय दाहसंस्कार स्थल बनाउने योजनामा बजेट नभएको  वन वातावरण तथा पर्यटन मन्त्रालयका इन्जिनियर कुलदिप यादवले जानकारी दिए ।

इन्जिनियर यादवले भने, ‘ अघिल्लो वर्ष ५० लाख बजेट विनियोजन गरिएको थियो । कुनै काम अगाडी बढ्न नसकेपछि बजेट फ्रिज भयो । चालु वर्षमा बजेट विनियोजन भएन । ’

‘यस्तो कामको लागि हामीसँग विज्ञता रहेनछ, पशुपतिको मोडलबाट काम गर्न खोजेका थियौँ । तर त्यहाँ गएर अध्ययन गरी यहाँ प्रोजेक्ट सम्पन्न गर्ने समय नै पुगेन । प्रक्रिया लामो तर समय थोरै त्यसैले बजेट फ्रिज भयो ।’ इन्जिनियर यादवले स्पष्ट पारे । 

‘विद्युतीय दाहसंस्कार स्थलका लागि इलेक्ट्रिकल, मेकानिकल र मेसिन लगायतको पार्टमा हामीसँग विज्ञता भएन । बाहिरबाट हायर गरेर काम गर्न सकिन्थ्यो तर समय थोरै,बजेट थोरै प्रक्रिया अगाडी बढाउनै गाह्रो भयो ।’ इन्जिनियर यादवले समस्या सुनाए । 

इन्जिनियर यादवको कुराबाट यो योजना सम्झौता गर्नु अघि विस्तृत परियोजनाको अध्ययन नभएको बुझ्न सकिन्छ । विद्युतीय दाहसंस्कार स्थल, आवश्यक पर्ने मेसिन, मेसिनको मूल्य र बाहिरबाट आयात गर्नुपर्ने विषयमा अस्पष्ट हुँदा काम अगाडी नबढेको इन्जिनियरको भनाई छ । 

पहिलो वर्ष काम नभए पनि दोस्रो वर्ष काम गर्न सकिन्थ्यो । तर वन वातावरण तथा पर्यटन मन्त्रालयबाट योजना नै हटाइयो । विद्युतीय दाहसंस्कार स्थल बनाउँदा दाउरा बाल्न रोकिँदा वनजंगल संरक्षण हुने भन्दै बजेट विनियोजन गरिएको थियो । तर पछि दाहसंस्कार प्रक्रिया सामाजिक कार्य अन्तर्गत पर्ने, अर्को मन्त्रालयको क्षेत्र भन्दै योजना नै हटाइयो ।  

यता, अर्को साझेदार संस्था इटहरी उपमहानगरपालिका पनि अहिले यो विषयमा मौन बसेको छ । अघिल्लो वर्ष निर्माण गर्ने विषयमा राम्रै प्रचारमा उत्रिएको उपमहानगरपालिकाले विद्युतीय दाहसंस्कार स्थल निर्माणको विषयमा कुनै प्रक्रिया अगाडी बढाएको छैन । 

यो योजनामा कुनै काम नभएको र हाल कुनै प्रक्रिया अगाडी नबढेको इटहरी उपमहानगरपालिकाका इन्जिनियर जिवन घिमिरेले जानकारी दिए । 
इन्जिनियर घिमिरेले भने, ‘अघिल्लो वर्ष मन्त्रालयबाट बनाउने भनिएको थियो । तर निर्माण हुन सकेन । यो वर्ष निर्माण गर्ने विषयमा कुनै छलफल भएको छैन ।’
विद्युतीय दाह स्थलको विषयमा उपमहानगरपालिकाले कुनै छलफल नभएको श्रीकृष्ण प्रणामी मन्दिर मुक्तिधामका अध्यक्ष हेमप्रसाद घिमिरेले जानकारी दिए । 
‘अघिल्लो वर्ष निर्माण गर्ने भनिएको हो । तर अहिले त छलफल नै भएको छैन ।उपमहानगरबाट पनि छलफल भएको छैन । बरु सामाजिक संघसंस्थाहरुले चासो देखाएका छन् । ’ अध्यक्ष घिमिरेले बताए । 

उनका अनुसार रोटरी क्लब अफ इटहरीले विद्युतीय दाह मेसिन दिने भन्दै प्रस्ताव मागेको छ । 
‘उहाँहरूले ७० लाखको मेसिन किनिदिने भन्नुभएको छ । प्रस्ताव माग्नु भएको छ । हामी छलफल गरी निर्णय दिने भनेका छौँ ’ अध्यक्ष घिमिरेले स्पष्ट पारे । 
इटहरीमा विद्युतीय शव दाह गर्ने मेसिन उपलब्ध गराउने विषयमा छलफल अगाडि बढेको रोटरी क्लब अफ इटहरीले जनाएको छ । 
मेसिन उपलब्ध गराउने विषयमा इटहरी उपमहानगरपालिकासँग छलफल भइरहेको रोटरी क्लब अफ इटहरीका अध्यक्ष कृष्णराज श्रेष्ठले जानकारी दिए ।  

इटहरीमा रहेको बुढी गंगाजमुना मुक्तिघाट कोशी प्रदेशकै व्यवस्थित घाट अन्तर्गत पर्छ । हाल यहाँ ५ वटा दाहसंस्कार स्थल मार्फत काम हुँदै आएको छ । तर पछिल्लो समय टाढा टाढाबाट पनि शव दाहसंस्कारका लागि ल्याउने गरेका कारण पालो कुर्नुपर्ने अवस्था सृजना भएको छ ।