सुनसरी– इटहरी आदर्श जाईन्टसले कोसी प्रिमियर लिग क्रिकेटमा विजयी सुरुवात गरेको छ ।
सुनसरीको भोक्राहा नरसिंह स्थित डा. खालिल आजाद खेल मैदानमा सोमबार भएको उद्घाटन खेलमा इटहरी आदर्शले दुहबी क्यापिटल्समाथी ३ विकेटको रोमाञ्चक जित हात पार्यो ।
दुहबीले दिएको १ सय ४५ रनको विजयी लक्ष्य अन्तिम बलमा ७ बिकेटको क्षतिमा पुरा गर्दै इटहरी आदर्शले जीत निकाल्यो । अन्तिम एक बलमा १ रनको आवश्यकता रहेको अवस्थामा दीपेश कँडेलले चौका प्रहार गर्दै रोमाञ्चक जीत दिलाए ।
फिर्दोस अन्सारीसँग पार्टनरसिप गरेका कँडेलले नट आउट १२ रन बनाउँदा फिर्दोस ४३ रनमा अभिजित रहे । भीम सार्की २४, गुल्सन झा २३, रासिद खान २३ र अर्जुन घर्तीले १९ रन जोडे । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको दुहबीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ४४ रनको योगफल खडा गरेको थियो । दुहबीका लागि लोकेश बम र त्रितराज दासले समान ४३–४३ रन जोडे । त्रितराज ४३ रनको नट आउट रहे । लोकेशले ३ छक्का र ४ चौका प्रहार गर्दै ४३ रन बनाएका थिए ।
सिङ्गल राउन्ड रोविन आधारमा सुरु प्रतियोगितामा सात टिमले प्रतिस्पर्धा गर्नेछन । टी–ट्वान्टी फर्म्याटमा आयोजना गर्न लागेको प्रतियोगितामा पूर्वेली सुपर किंग्स विराटनगर, नमुना ब्लाष्टर इटहरी, दुहबी क्यापिटल, बालनबिउल सप्तरी टाईगर्स, एनबिएससी लायन्स विराटनगर, इटहरी आदर्श जाईन्टस र भोक्राह नरसिंह अर्नाज गरी सात टिमले प्रतिस्पर्धा गर्नेछन ।
सात वटै टिममा राष्टि खेलाडीको बाहुल्य रहेको छ । प्रतियोगिता अवधिभर कुल २२ खेल हुनेछन । शीर्ष दुई टोली उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन । प्रतियोगिताको विजेताले ५ लाख ५ हजार र उपविजेताले ३ लाख ३ हजार नगद पुरस्कार पाउने छन् ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २५ हजार पाउँदा प्रत्येक खेलको म्यानअफद म्याचले ५ हजार पाउनेछन् । वेस्ट बलर र ब्याटरले नगद १५–१५ हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ । प्रतियोगिता फागुन १७ गतेसम्म चल्नेछ ।