सुनसरी । सुनसरीको दुहबी नगरपालिकामा अफ्रिकन स्वाइन फ्लु पुष्टि भएपछि बंगुर ओसार–पसारमा पूर्ण प्रतिबन्ध लगाइएको छ । 

दुहबी नगरपालिकाले उच्च सकर्तकता अपनाउँदै १५ दिनका लागि बंगुर ओसार–पसारमा पूर्ण प्रतिबन्ध लगाएको छ । 

केन्द्रीय प्राविधिक ल्याब काठमाण्डौले अफ्रिकन स्वइन फ्लु पुष्टि गरेपछि प्रतिबन्ध लगाइएको दुहबी नगरपालिकाका नगरप्रमुख वेद नारायण गच्छादारले जानकारी दिए । 

बुधबार दुहबी नगरपालिका, पशु सेवा शाखा, विभिन्न वडाका अध्यक्ष, इलाका प्रहरी, शसस्त्र प्रहरीको आकस्मिक बैठक बसेको थियो । सो बैठकले संक्रमण नियन्त्रणका लागि तत्काल कदम चाल्न निर्देशन दिएको नगरप्रमुख गच्छादारले बताए । 

दुहबी नगरपालिकाले फार्महरुको अनुगमनलाई कडा बनाएको छ । नगरपालिकासँगै स्थानीय प्रहरी र पशु सेवा शाखाले संयुक्त अनुगमन टोली बनाएर फार्महरूको अनुगमन सुरु गरिएको नगरपालिकाले जनाएको छ । 

दुहबी पशु सेवा शाखाका अनुसार, दुहबी नगरपालिकाको  ९ र १० नम्बर वडाका वंगुर फार्महरुमा  २५ वटा बंगुर मरेका थिए । 

“दुहबी–१० मा १० वटा र दुहबी–९ मा १५ वटा बंगुरको मृत्यु भइसकेको छ। अझै धेरै बंगुर बिरामी देखिएका छन्, जसले रोग थप फैलिने सम्भावना प्रबल बनाएको छ,” शाखा अधिकारीले जानकारी दिए ।

अफ्रिकन स्वाइन फिभर अत्यन्त संक्रामक र घातक रोग हो, जसको मृत्यु दर ९० प्रतिशत भन्दा बढिसम्म पुग्न सक्छ । यो रोग सिधै बंगुरबाट बंगुरमा मात्र नभई किर्ना, सङ्क्रमित भाँडाकुँडा, दूषित दानापानी, कपडा र संक्रमित सुईहरूबाट पनि फैलिने गर्छ ।

एक हप्ता अघि सुनसरीकै कोसी गाउँपालिकामा वर्डफ्लु पुष्टि भएको थियो । उच्च सर्तकता अपनाएर हाँस र कुखुरा नष्ट गरिएको थियो । 

गर्मी बढेसँगै भारतसँग सिमा जोडिएको सुनसरीका विभिन्न पालिकामा पशुपंक्षीमा लाग्ने संक्रमाक रोगहरु देखिन थालेको छ । यसले सुरक्षा जोखिमसँगै व्यवसायीक जोखिम पनि बढाएको छ ।