सुनसरी । साना तथा मझौला व्यवसायीहरुले बैंकले ज्यादति गर्दै परिवारलाई धम्की दिने गरेको गुनासो गरेका छन् ।
सुनसरीको इटहरीमा भेला भएका साना तथा मझौला व्यवसायीहरुले बैकले ‘पेशेवर गुण्डा’ लाई रिकभरीको रुपमा प्रयोग गर्दै परिवारलाई धम्कीदिने, थर्काउने गरेको आरोप लगाएका छन् ।
बैंकले सुरुबाटै ३५ दिनको धम्की दिने गरेको, सुचना पठाउँदा पनि व्यक्तिले बुझ्न नमान्ने, गाउँमा मान्छे बोलाएर होहल्ला गर्दै भित्तामै सुचना टाँस्न लगाउने जस्ता कार्यले परिवारमा मानसिक तनाव सृजना गरेको गुनासो गरेका छन् ।
निर्माण व्यवसायी कुमार गिरीले भने, ‘उनीहरु पुरै गुण्डागर्दै मै उत्रिसके,बैंकहरुले एउटा टिम बनाएको छ,पुरानो आर्मीको अफिसर,पुलिसको एसपी, एसएसपी लगायतको कमाण्डमा एउटा टिम बनाएको छ । पेशेवर गुण्डाहरुलाई युज गरेको छ । उनीहरु आएर धम्काउने, तर्साउने गर्छन । ’
गत फागुन १६ गते इटहरीमा बैंकबाट पिडित बनेका व्यवसायीहरुले भेलाको आयोजना गरेका थिए ।
सो भेलाले साना तथा मझौला व्यवसायीको आफ्नै संगठन नभएकै कारण सरकार र व्यवसायीक संगठनहरुले आफ्नो आवाज नसुनेको भन्दै छुट्टै समुह निर्माण गर्ने निर्णय पनि गरेका छन् ।
भेलाले भोला प्रसाद निरौलाको संयोजकत्वमा ३१ सदस्य बैंक कर्जा व्यवस्थापन समिति इटहरी गठन गरेको छ ।
सोमबार पत्रकार सम्मेलन गरी उनीहरुले भेलाको निर्णय तथा आगामी कार्यक्रमको जानकारी गराएका छन् ।
पत्रकार सम्मेलनमा उनीहरुले संगठित भएर आवाज उठाउने बताएका छन् । बैंक कर्जा व्यवस्थापन समितिका संयोजक भोला प्रसाद निरौलाले हाम्रो आवाज कसैले नसुनेपछि संगठित भएर आवाज उठाउन बाध्य भएको बताए ।
बैंक कर्जा पिडितहरुलाई नागरिक बचाउ अभियानले पनि सहयोग गर्ने भएको छ । नागरिक बचाउ अभियान इटहरी नगर अध्यक्ष सरद तामाङले हिजो आफुहरु एक्लै लडेको बताउँदै संगठित भएको यो समुहलाई सहयोग गर्ने बताए ।
पत्रकार सम्मेलनमा उपस्थित भएका बैंक कर्जा पिडितहरुले काम गर्ने वातावरण बनाएर विकल्प दिनुपर्ने माग पनि गरेका छन् ।
केही समय उपलब्ध गराएर,पुर्नकर्जा उपलब्ध गराएर वा अन्य कुनै विकल्प दिएर काम गर्ने वातावरण दिनुपर्ने उनीहरुको माग छ ।
उनीहरुले बैंकबाट पिडित बनेका साना तथा मझौला व्यवसायीहरुलाई संगठित गर्दै लैजाने बैंक कर्जा व्यवस्थापन समिति सदस्य तथा व्यवसायी तारा कटुवालले बताए । अन्य जिल्ला तथा शहरका बैंक कर्जा पिडित व्यक्तिहरुलाई संगठित गर्दै आवाजलाई बुलन्द बनाउने उनले बताए ।