सुनसरी । भारतीय पर्यटकलाई सहजरुपमा नेपाल प्रवेशका लागि कोसी प्रदेश सरकारले सीमा नाकामा भारतीय सवारी साधनमा स्टिकर टाँस्ने अभियान सुरु गरेको छ ।
शुक्रवार जोगबनी नाकाबाट मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शुभारम्भ गरेको अभियान अन्तर्गत आइतबार इलामको पशुपतिनगर, झापाको काँकडभिट्टा र सुनसरीको कोसी ब्यारेज नाकामा एक साथ सुरु गरिएको छ ।
सुनसरीको कोसी ब्यारेजमा कोसी प्रदेशका बन, पर्यटन तथा वातावरण मन्त्री सदानन्द मण्डलले सुरुवात गर्नुभयो । झापाको काकडभिटामा आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारी र पशुपतिनगर नाकामा मन्त्रालयका अधिकारीले सुरुवात गरेका हुन ।
२०८२ साललाई पर्यटन वर्ष घोषणा गरेको प्रदेश सरकारले पर्यटकलाई सहज र सरल यात्रा अनुभव प्रदान गर्न यो अभियान सुरु गरेको जनाएको छ । भारतबाट आउने पर्यटकलाई प्रहरीले अनावश्यक दुःख दिने गरेको गुनासो आएपछि अभियानलाई कोसी प्रदेशभरि लागू गर्न लागिएको हो ।
स्टिकर टाँसेका सवारीलाई नाकामा एक पटक जाँच गरेपछि अन्य स्थानमा प्रहरीले जाँच गर्न नपाउने र अन्य स्थानीय तहले पनि शुल्क लिन नपाउने व्यवस्था गरिएको छ ।