सुनसरी । कोसी प्रदेशमा रहेको यातायात व्यवस्था कार्यालयमा अनलाइन भुक्तानी सुरु भएको छ । कोसी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले सोमबार इटहरी स्थित यातायात व्यवस्था कार्यालयमा अनलाइन भुक्तानी सेवाको औपचारिक शुभारम्भ गरेका छन् ।
कोसी प्रदेशमा रहेका यातायात व्यवस्था कार्यलयहरुमा अनलाइन भुक्तानी सेवा सुरु गर्नेक्रममा सोमबार इटहरीमा रहेको कार्यालयमा सेवा सुरु गरिएको मन्त्री भण्डारीले जानकारी दिए । 
अनलाइन भुक्तानी सेवा सुरु गरिएपछि सेवाग्राहीलाई घण्टांैसम्म लाइन बसेर भुक्तानी गर्नुपर्ने झन्झटिलो प्रक्रियाबाट मुक्त गरिएको भण्डारीले बताए । उनले अब कोसी प्रदेशका यातायात कार्यालयमा कोही बिचौलिया नचाहिने र सेवाग्राहीले स्वयम आफ्नो काम सहज रूपमा गर्न सक्ने दाबी गरे ।
नेपालमा पहिलो पटक कोसी प्रदेशले थालनी गरेको यो अनलाइन भुक्तानी प्रणालीले पारदर्शिता र दक्षता बढाउने अपेक्षा लिएको मन्त्री भण्डारीले दाबी गरे । यातायात व्यवस्था कार्यालय कोसी अन्तर्गत झापा, मोरङ, सुनसरी, इलाम, धनकुटा, उदयपुर र ओखलढुङ्गा गरी सात जिल्लाका ८ स्थानमा रहेका कार्यालयबाट सेवा प्रवाह हुने गरेको छ ।