सुनसरी । मनमोहन मेमोरियल एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको तेस्रो संस्करण विराटनगरमा हुने भएको छ । प्रतियोगिता वैशाख १३ देखि २० गतेसम्म विराटनगर बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला क्रिकेट रङ्गशालामा हुने आयोजक एमएम कप फाउन्डेसन सुनसरीले मङ्गलवार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । ५० ओभरको एक दिवसीय क्रिकेट प्रतियोगितामा एक भारतीय टिम सहित ६ टोलीले सहभागिता जनाउनेछन् । प्रतियोगितामा विभागीय टोलीहरू नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लब, असाम क्रिकेट टिम तथा कोसी र बाग्मती प्रदेश टिमले सहभागी जनाउने फाउन्डेसनका अध्यक्ष विप्लव घोषले बताए ।
प्रतियोगिता विजेतालाई नगद चार लाख र ट्रफी प्रदान गरिनेछ भने उपविजेतालाई दुई लाख र ट्रफी दिइने आयोजकले जनाएको छ । सर्वोत्कृष्ट खेलाडीलाई नगद २५ हजार र उत्कृष्ट ब्याटर र बलरलाई जनही १५–१५ हजार प्रदान गरिनेछ । प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई नगद ४ हजार प्रदान गर्ने अध्यक्ष घोषले बताए । प्रतियोगिता सम्पन्न गर्न एक करोड रुपैयाँ खर्च लाग्ने आयोजकको अनुमान छ । फाउन्डेसनले यसअघि आयोजना गरेका पहिलो र दोस्रो संस्करणको प्रतियोगितामा त्रिभुवन आर्मी क्लब लगातार विजेता भएको थियो । पहिलो र दोस्रो संस्करणमा प्रतियोगिता १२–१२ वटा टोली सहभागी भए पनि यस पटकको संस्करणमा समय अभावले ६ वटा टोली मात्रै सहभागी गराएको आयोजकले जनाएको छ ।