सुनसरी  । दुई वर्षअघि देशभर गाईभैंसीमा महामारीझैं फैलिएको लम्पी स्किन रोग अहिले फेरि झापामा देखिएको छ । पशु सेवा विभागका अनुसार झापाको मेची नगरपालिकाका केही गाउँमा लम्पी रोग देखिएको हो । प्रारम्भिक अध्ययनमा खोप नलगाइएका गाइभैंसीमा रोग देखिएको विभागले जनाएको छ ।

विभागका महानिर्देशक रामनन्दन तिवारीले रोग पहिचान गर्न टोली परिचालन गरेको जानकारी दिए । नेपालमा पहिलो पटक २०७७ असारमा लम्पी देखिएको थियो । २०७७ र २०७८ मा १६ जिल्लाका २९ पालिकामा फैलिएको रोगबाट ३ हजार ३ सय १ पशु संक्रमित भएका थिए भने १३ पशु मरेका थिए । सरकारले नियन्त्रणमा चासो नदिँदा २०७९ चैतमा फेरि देखापरेको थियो । २०७९ चैतमा कोशी प्रदेशबाट महामारीका रूपमा फैलिएको रोगबाट १५ लाख ३६ हजार पशु संक्रमित भएका थिए ।

कोशी प्रदेशबाट सुरु भएको रोग ७७ जिल्लामै पुष्टि भएको थियो । ७ महिनामा ६५ हजार ४ सय ४१ पशु मरेका थिए । धान रोपाइँकै मुखमा किसानको पशु मर्दा रोपाइँमा असर गरेको थियो । लम्पीकै कारण धान रोपाइँसमेत ढिलाइ भएको किसानले बताएका थिए । रोग नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न नसकेको सरकारबाट सबै किसानले राहत पनि पाएनन् । बिमा कम्पनीबाट क्षतिपूर्ति पाउन नसकेका उनीहरूले सरकारले महामारी घोषणा गरे पनि राहत पाउन नसकेको बताएका छन् ।

अहिले रोगबारे गुनासो आएपछि कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीको अध्यक्षतामा सोमबारको बैठकले पशु सेवा विभागअन्तर्गतका वरिष्ठ पशु चिकित्सकको नेतृत्वमा पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, प्रदेश मन्त्रालयअन्तर्गतका सम्बन्धित अधिकृत र स्थानीय तहसमेतको सहभागितामा टोली गठन गरेको छ । तत्काल रोग देखापरेका क्षेत्रमा टोली परिचालन भएको जनाएको छ ।