विराटनगर । विराटनगर महानगरपालिका वडा नं. २ की रन्जिता सुवेदी पार्लर सञ्चालन गरेर आज आत्मनिर्भर छिन् । त्यो सम्भव हुनुको पछाडिको कारण भनेको उद्यमशीलता तालिम र एक घर, एक व्यवसाय अभियानकै कारण हो । दलित महिला सङ्घ (फेडो) मोरङको आयोजना र विराटनगर महानगरपालिकाको सहकार्यमा ६ दिनको उद्यमशीलता तालिम सञ्चालन पछि महिलालाई उद्यमी बनाउने बाटो खुलेको हो । तालिमको उद्देश्य थियो, सीमान्तकृत, दलित, अल्पसङ्ख्यक तथा आर्थिक रूपमा कमजोर महिलाहरूलाई उद्यमका लागि तालिम लिएको र व्यवसाय गर्न थालेको विराटनगर ८ की उर्मिला विश्वकर्माले बताइन् ।

विराटनगर महानगरपालिकाको वडामा सञ्चालन गरिएको तालिम अन्तर्गत सुरुमा पाँच वटा समूह बनाउने योजना थियो। तर सहभागिता यति उत्साहजनक रह्यो कि समूहको सङ्ख्या सात पुगेको छ। प्रत्येक समूहमा २५ जनादेखि माथि सहभागी छन्। वडा नं. ६ मा त एउटै समूहमा ४५ जना महिलाहरू छन् ।
आर्थिक वर्ष २०८१/८२ को बजेटमा महानगरले “महिला उद्यमशीलता“लाई प्राथमिकता दिँदै तालिमका लागि स्रोत सुनिश्चित ग¥यो। सामुदायिक शाखा र वडा तहका जनप्रतिनिधिहरूको सक्रियताले कार्यक्रम थप प्रभावकारी बन्यो। यस्ता तालिमहरू सङ्घ संस्था मार्फत हुँदै आएका छन् । समृद्ध समाज नेपालका अध्यक्ष कला डाँगीले महिलाहरूलाई लक्षित गरी महानगरले तालिम दिँदै आएको बताइन् ।
तालिमले सीप मात्रै सिकाए उनीहरूलाई व्यवसायी बन्ने अवसरको ढोका पनि खोल्यो। सीप मात्र होइन, महिलामा आत्मबल भर्न सक्नु पनि सफलता हो । कोही खुद्रा पसल, कोही अचार उद्योग, कोही सिलाइ–कटाइ, कोही पार्लर सञ्चालन गर्ने भएका छन्। कतिपय महिलाहरूले व्यवसाय समेत चलाइरहेकी छन्, परिवार धानिरहेकी छन्, छोराछोरीको पढाइ खर्च जोहो गर्न थालेको दलित महिला सङ्घ फेडो मोरङ अध्यक्ष शर्मिला परियार बताउँछिन् । “एक घर, एक व्यवसाय” अब केवल नारा होइन, सफलतासँगै जोडिएको कथा पनि हो । विराटनगर महानगरपालिकाको सहयोगबाट सुरु भएको यो कार्यक्रम अहिले महिलालाई स्वरोजगार र उद्यमी बन्नको लागि महत्त्वपूर्ण अवसर बनेको छ । विराटनगर महानगरपालिकाका सामुदायिक शाखा प्रमुख शेरबहादुर खड्काले महानगरले दलित, एकल, सीमान्तकृत, आर्थिक अवस्था कमजोर भएका र पछाडि परेका महिलाहरूलाई लक्षित सशक्तीकरण कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए ।

विराटनगर महानगरपालिकाले सुरु गरेको महिला सशक्तीकरण अभियानले सीमान्तकृत, दलित, अल्पसङ्ख्यक तथा आर्थिक रूपमा कमजोर महिलाहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याएको छ। तालिम, नेतृत्व विकास, विउँपूँजीको पहुँच र ‘एक घर, एक उद्यमशीलता’ कार्यक्रमजस्ता पहलहरूले महिलाहरूमा आत्मविश्वास, सीप र आत्मनिर्भरताको भावना विकास गर्न महानगरपालिकाले सबै खालका महिलाको उद्यमशीलताको कार्यक्रम सञ्चालन गर्दै आएको विराटनगर महानगरपालिकाका उपप्रमुख शिल्पा निराला कार्कीले जानकारी दिइन्। महानगर र स्थानीय वडा स्तरको सहकार्यले यी कार्यक्रमहरूलाई व्यवहारिक, सान्दर्भिक र प्रभावकारी बनाएको छ। सहभागी महिलाहरूले सीप आर्जन गरेर आफ्नो व्यवसाय स्थापना गर्नु मात्र होइन, आफ्नो समुदायमा प्रेरणाको स्रोत बन्न सफल भएका छन्।
भिडियो रिपोर्ट