सुनसरी । पशु चौपायमा लाग्ने लम्फी स्किनको प्रकोप कोसी प्रदेशमा नियन्त्रण बाहिर गएको छ ।

कोसी प्रदेशका तीन जिल्ला बाहेक ११ जिल्लाका गाई भैँसीमा सरेको सङ्क्रमण नियन्त्रण बाहिर गएको हो ।

कोशीका झापा, मोरङ, इलाम, सुनसरी, उदयपुर, खोटाङ, धनकुटा, पाँचथर, भोजपुर, ताप्लेजुङ र तेह्रथुममा सङ्क्रमण फैलिएको छ ।

संखुवासभा, ओखलढुङ्गा र सोलुखुम्बु जिल्लामा भने सङ्क्रमण नदेखिएको कोसी प्रदेशको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार कोसीमा हालसम्म २२ हजार १ सय २२ गाई भैँसीमा लम्पी स्किन सङ्क्रमण देखिएको छ भने संक्रमणबाट ६ सय ३७ वटा चौपाया मरेका छन् ।

सबैभन्दा धेरै झापामा १४ हजार ६ सय ९२ पशु रोगबाट प्रभावित छन् भने मोरङमा २ हजार ४ सय ३६ र सुनसरीमा १ हजार ७ सय ५७ पशु प्रभावित छन् । पहिले खोप लगाउन छुटेका पशुचौपायमा यो रोको सङ्क्रमण बढी देखिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सुनसरीका प्रमुख डा. मनोज कुमार महतोले जानकारी दिए ।

स्थानीय तहले न्यून बजेट छुट्याउदा खोप कार्यक्रम प्रभावकारी हुन नसकेको उनको भनाई छ ।

कोसीमा हालसम्म ३ लाख १२ हजार ६ सय ४१ डोज खोप लगाइएको छ ।

लम्पी स्किन रोगका कारण कोसीमा १ अर्ब ८ करोड रुपैयाँ बराबरको नोक्सानी भएको अनुमान गरिएको छ ।