विराटनगर । पाँचथरमा ५ दिनदेखि हराइरहेका दाजु बहिनी मृत अवस्थामा फेला परेका छन् । पाँचथरको याङवरक गाउँपालिका–१, विरुवाका बिर्खबहादुर राईका छोरा शिशिर राई र छोरी नानुमा राईको शव विरुवा खोला किनारमा फेला परेको हो ।
मृतक शिशिर १० वर्ष र उनकी बहिनी नानुमा ४ वर्षकी थिइन् । उनीहरूको शव शव मङ्गलवार बिहान विरुवा खोला किनारमा भेटिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । हराई रहेका दाजु बहिनी विरुवा खोला किनारमा छुट्टा छुट्टै स्थानमा मृत फेला परेका हुन् । बहिनीको केही तल र दाजुको केही माथि खोला किनारमा शव भेटिएको हो ।
विर्खबहादुर भने गाउँमै खेती किसानी गर्दै आएका थिए । उनी श्रीमती भने वैदेशिक रोजगारीमा रहेकी छन् । मृतक दुवै जना कहिले हजुरबुबा हजुरआमासँग र कहिले बुबासँग बस्दै आएका थिए ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार, साउन १५ गते शुक्रवार विद्यालय जान हिँडेका उनीहरू त्यसपछि सम्पर्कविहीन भएका थिए । जिल्ला प्रहरी कार्यालय, पाँचथरका प्रहरी निरीक्षक रुपेश तामाङले बेपत्ता भएको दिन हजुरबुबाकोमा खाना खाएर दुवै जना स्कुल गएको बताए ।
उनीहरू स्कुल भने नपुगेको तामाङले बताए । प्रहरी निरीक्षक तामाङले घटनाको अनुसन्धान सुरु गरिएको र थप विवरण आउन बाँकी रहेको बताए । प्रहरीले घटनास्थलको मुचुल्का उठाएर शव परीक्षणका लागि पठाउने तयारी गरिरहेको छ ।