विराटनगर । मोरङ उद्योग व्यापार संघको ऊर्जा समितिको आयोजनामा ‘इन्डस्ट्रियल पावर कन्ट्रोल अटोमेसन’ विषयक सात दिने तालिम मंगलबार सम्पन्न भएको छ। श्रावण १४ गतेदेखि २० गतेसम्म संघको समृद्धि हलमा आयोजित तालिममा मोरङ–सुनसरी औद्योगिक कोरिडोरमा कार्यरत विभिन्न उद्योगका विद्युत प्राविधिक र इलेक्ट्रिसियनहरू सहभागी थिए।
उक्त तालिममा सहभागीहरूलाई आधुनिक औद्योगिक विद्युत प्रणाली, अटोमेसन कन्ट्रोल, प्रोग्रामेबल लजिक कन्ट्रोलर (PLC), मोटर ड्राइभ, विद्युत सुरक्षाका उपायहरू र ऊर्जा दक्षता जस्ता विषयमा सैद्धान्तिक जानकारीका साथ व्यवहारिक सीपसमेत प्रदान गरिएको थियो।
उद्योग र व्यवसाय क्षेत्रको विकास तथा आधुनिकीकरणमा संघले निरन्तर ध्यान दिँदै आएको उल्लेख गर्दै यस्ता तालिमहरू आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिने संघले जनाएको छ।
संघका महासचिव सञ्जय कुमार श्रेष्ठले तालिमबाट प्राप्त सीपहरूले उद्योगहरूलाई अझ सुरक्षित, व्यवस्थित र प्रविधि–मैत्री बनाउने विश्वास व्यक्त गर्दै सहभागीहरूलाई सफल कार्यान्वयन हुने विश्वास व्यक्त गरे ।
ऊर्जा समितिका संयोजक तथा कार्यकारिणी सदस्य शुशिल सुरानाले यस्ता प्रयोगात्मक तालिमहरूको निरन्तरता संघको प्राथमिकता भएको बताए ।
तालिमका सहजकर्ता शंकर कामतले आधुनिक औद्योगिक प्रणालीसँग जोडिएका महत्वपूर्ण विषयमा प्रशिक्षण प्रदान गर्ने अवसर दिएकोमा संघप्रति आभार प्रकट गर्दै यस्ता तालिमहरूको आवश्यकता अझै रहेको धारणा राखे।
समापन कार्यक्रममा प्रशिक्षक र सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्दै तालिमलाई औपचारिक रूपले समापन गरिएको थियो।