विराटनगर । आफ्नै घरमा काम गर्न राखिएकी नावालिकालाई यौन दुर्व्यवहार  गरि फरार भएका सुनसरी वराहक्षेत्रका अर्थराज कोइराला पक्राउ परेका छन् । पहुँचको आधारमा  उनी लामो समयदेखि पक्राउ परेका थिएनन् । 

नेपाली काँग्रेसका हाइ प्रोफाइल नेताहरूसँग सङ्गत भएका कोइराला अमेरिकाको टेक्ससमा बस्दै आएका थिए । घर आएका बेला गत वैशाखमा उनले आफ्नै घरमा बस्ने नावालिकलाई यौन दुर्व्यवहार गरेको  घटना बाहिरिएपछि उनलाई प्रहरीले पक्राउ गरेको थियो ।

प्रहरीले पक्राउ गरे पनि उनी धरौटीमा छुटेका थिए । कोइरालालाई सुनसरी जिल्ला अदालतले ले गत असार ३२ गते कसुरदार ठहर गरेको थियो । बालबालिका सम्बन्धी कसुरअन्तर्गतको बाल यौन दुरुपयोग मुद्दामा दोषी ठहर गर्दै सुनसरी अदालतले कोइरालालाई २ वर्ष कैद, २५ हजार रुपैयाँ जरिबाना हुने फैसला गरेको थियो । साथै, पीडितलाई क्षतिपूर्तिबापत कोइरालाबाट २ लाख रुपैयाँ भराउने फैसला भए पनि उनी पक्राउ परेका थिएनन् । 

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर गर्न गएका बेला मङ्गलवार विराटनगरबाट पक्राउ परेका छन् ।
अदालतबाट दोषी ठहर भएका फरार प्रतिवादी कोइराला लामिछानेका पक्षमा हस्ताक्षर गर्न पुगेको जानकारी पाए लगत्तै प्रहरीले उनलाई पक्राउ गरेको हो ।