विराटनगर । विराटनगर महानगरपालिकाले सार्वजनिक सडकमा छाडा छाडिएका २९ वटा खसी र बाख्रा नियन्त्रणमा लिएको छ। बुधवार महानगरपालिका–६ र ११ का विभिन्न स्थानहरूबाट ती पशुहरू नियन्त्रणमा लिई बिरेन्द्र सभागृह छेउमा राखिएको नगर प्रहरीले जनाएको छ।
नगर प्रहरी प्रमुख प्रहरी निरीक्षक राजन पौडेलले सार्वजनिक स्थलमा छाडा छाडिएका पशुहरूले सवारी आवागमन, सरसफाइ र जनस्वास्थ्यमा समस्या निम्त्याउने भएकाले नियन्त्रणमा लिएको जानकारी दिए।
यसरी नगर प्रहरीले नियन्त्रणमा लिएका पशुहरू खसी बाख्राकाे पाँच सय, गाई गाेरूकाे २ हजार र भैसीकाे २ हजार पाँच सय जरिवाना तिर्नु पर्ने महानगरकाे कानुन छ ।
`पशु धनीहरूले नियमानुसारको जरिमाना तिरेर तीन दिनभित्र पशु लिन सक्नेछन्,´ निरीक्षक पौडेलले भने, `तोकेको समयमा नआएमा ती खसीबाख्रा लिलामी प्रक्रिया अघि बढाइनेछ।´
महानगरपालिकाले यसअघि पनि पटक–पटक सूचना जारी गर्दै सार्वजनिक स्थलमा पशु नछाड्न आग्रह गर्दै आएको थियो। तर सूचना बेवास्ता भएपछि नगर प्रहरीले कारबाही प्रक्रिया थालेको हो।