विराटनगर । विश्व स्तनपान सप्ताहको अवसरमा विराटनगरको कोसी अस्पतालले सप्ताहव्यापी स्तनपान सम्बन्धी जनचेतनामूलक कार्यक्रमको आयोजना गरेको छ । अस्पतालका स्वास्थ्य कर्मचारीहरुले नवजात शिशुलाई जन्म दिएका आमाहरूलाई स्तनपानको महत्व र स्तनपान गराउने सही तरिकाबारे सिकाउँदै जनचेतना अभिवृद्धि गरेका छन् ।
अस्पतालमा कार्यरत नर्सहरूको आयोजनामा गरेको स्तनपान सप्ताह एक अगस्टदेखि अन्तिम दिन सात अगस्ट(आज) सम्म चलेको कार्यक्रममा स्तनपानलाई प्राथमिकतामा राख्दै दिगो र सहयोगी वातावरण निर्माण गर्ने उद्देश्यले विभिन्न कार्यक्रमको आयोजना गरिएको वरिष्ठ नर्सिङ निरीक्षक लजिता योञ्जनले बताउनु भयो ।
स्थानीय समुदायमा जनचेतना अभिवृद्धि गराउने उद्देश्यले आयोजना गरेको सप्ताहव्यापी कार्यक्रममा पूर्वप्रसुती, प्रसूति तथा स्तनपान गराइरहेका आमाहरू, सेवाग्राही र उनीहरूका परिवारलाई समेत स्तन पानको महत्त्व र स्तनपान गराउने तरिकाबारे जानकारी गराइएको थियो ।
कार्यक्रममा बोल्दै अर्की नर्सिङ निरीक्षक अन्जु खनालले आमको दुध शिशुको लागि अमृत समान र जीवनकै पहिलो खोप भएकाले विगौती दूध शिशुलाई खुवाउनु पर्नेमा जोड दिनुभयो । आमाको दूधमा रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता बढाउने तत्वहरु प्रशस्त हुने भएकाले ६ महिनासम्म आमाको दूध र त्यसपछि आमाको दूध र अन्य खानेकुरा थप्दै जानु पर्नेमा जोड दिनुभयो । नेपालमा शिशु जन्मेको एक घण्टा भित्र स्तनपान गराउने आमाहरुको संख्या ५५ प्रतिशत रहेको छ भने शिशु जन्मेको ६ महिना भित्र स्तनपान गराउनेको संख्या ५६ प्रतिशत र बालबालिकालाई कम्तीमा दुई बर्ष सम्म स्तनपान गराउनेको संख्या ९४ प्रतिशत रहेको देखिन्छ ।
पछिल्लो समय स्तनपान गराउने आमाहरुको संख्यामा कमी आएकाले आमा र बच्चा दुवैमा विभिन्न प्रकारको समस्या देखिएको भन्दै स्तनपान नियमित गराउनु पर्नेमा स्वास्थ्यकर्मीहरुले जोड दिएका छन् ।
नेपालमा सन् १९९२ देखि विश्व स्तनपान सप्ताह मनाउदै आएको छ ।