सुनसरी । इटहरीमा निर्माण सुरु गरिएको अत्याधुनिक वहुजातीय संग्राहलय चार वर्षदेखि अलपत्र परेको छ ।
इटहरी उपमहानगरपालिकाले २०७८ मङ्सिर २४ गतेदेखि निर्माण सुरु गरेको संग्राहालय चार वर्षदेखि अलपत्र बनेको हो ।
संग्राहलयको इटहरी वडा नम्बर १० मा तत्कालीन मुख्यमन्त्री राजेन्द्र राईले शिलान्यास गरेयता २० प्रतिशत मात्र काम भएको छ  ।
त्यो बेला संग्राहलय तीन आर्थिक वर्षमा सम्पन्न हुने र इटहरीको गौरवको योजना भएको बताइएको थियो ।
अहिले संग्राहालय निर्माण स्थल झाडीमा परिणत भएको छ । केही निर्माण सामाग्रीहरू अलपत्र छन् ।
संग्राहलयमा विभिन्न जातजाति, धर्म संस्कृतिका समाग्रीहरु सङ्ग्रह गरिने योजना सहित दुई विगाह क्षेत्रफलमा तीन तले भवन निर्माण सुरु गरिए पनि कामले गति लिन सकेको छैन ।
२५ वटा प्रदर्शनी कक्ष हुने गरी बनाउन थालिएको संग्राहालयको लागत १७ करोड १५ लाख ७ हजार ६ सय ७८ रुपियाँ रहेको थियो ।