सुनसरी । श्रीकृष्ण जन्माष्टमीको अवसरमा अन्तर्राष्ट्रिय कृष्ण भावनामृत सङ्घ (इस्कोन) इटहरीले तीन दिन विशेष धार्मिक तथा सांस्कृतिक महोत्सव आयोजना गर्ने भएको छ।

श्रावण २९, ३० र ३१ गते इटहरी उपमहानगरपालिका–६ स्थित रिजाल भिजन पार्टी प्यालेसमा महोत्वस आयोजन गर्ने भएको हो।


बिहीबार आयोजित पत्रकार सम्मेलनमा इस्कोन इटहरीका अध्यक्ष ललित बहादुर वानियाले महोत्सवका सबै तयारी पूरा भएको जानकारी दिँदै पहिलो दुई दिन वैदिक ग्रन्थ तथा चित्रकला प्रदर्शनी, विद्यालयस्तरीय वक्तृत्व प्रतियोगिता र शिक्षामूलक गतिविधि सञ्चालन गरिने बताए।

श्रावण ३१ गते, जन्माष्टमीको दिन, कृष्ण कथा वाचन, भजन–कीर्तन, महाआरती, दीप अर्पण, भगवान श्रीकृष्णको अभिषेक तथा महाप्रसाद वितरणजस्ता प्रमुख धार्मिक कार्यक्रम हुनेछन्।

कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक र स्थानीय भक्तजनको विशेष सहभागिता रहनेछ।


महोत्सवको भोलिपल्ट राधाकृष्णको भव्य रथयात्रा निकालिनेछ, जसले शिव मन्दिर र राधाकृष्ण मन्दिरबाट प्रारम्भ भई इटहरीका विभिन्न सडक परिक्रमा गर्दै पुनः मन्दिरमै समापन हुनेछ।

आयोजकका अनुसार, रथयात्रामा ठूलो संख्यामा भक्तजनको सहभागिता रहने अपेक्षा गरिएको छ।

इस्कोन इटहरीले विगत आठ वर्षदेखि यस्ता धार्मिक कार्यक्रममार्फत समाजमा नैतिक मूल्य, आस्था र सांस्कृतिक चेतना अभिवृद्धि गर्दै आएको छ।