सुनसरी– लोक गायिका अन्जु गौतमले आफ्नो तीन वटा गीत ब्लकमा परेर म्युजिक नेपालले ज्यादती गरेको आरोप लगाएकी छन् ।
गायिका गौतमले बुधवार पत्रकार सम्मेलन गर्दै आफ्नो युट्युब च्यानल अन्जु गौतम अफिसियल मार्फत सार्वजनिक गरेका ३ वटा गीत म्युजिक नेपाल र त्यसका प्रमुख सन्तोष शर्माले ब्लक गराएको बताइन ।
दुई दशक देखी लोकगीत संगितको क्षेत्रमा क्रियाशील गायिका गौतमले अरुण उपत्यका सांस्कृतिक अनुसन्धान केन्द्रको सहयोगमा आफ्नो गीतलाई ब्लक गराएको दाबी गरिन ।
आफूले गाएको गीतलाई उनीहरूको गीतसँग मिलेको भन्दै ब्लक गराएको गौतमको आरोप छ ।
यो घटनाले आफूलाई ठुलो मानसिक पीडा भएको उनको भनाई छ ।
आफ्ना गीतहरू बिना कारण ब्लक गराएर म्युजिक नेपालका प्रमुखले संविधानले नेपाली नागरिकलाई सुनिश्चित गरेका तीन वटा मौलिक हकको उल्लङ्घन गरेको भन्दै तत्काल ब्लक गरिएका गीतहरू खोल्न आग्रह गरेकी छन् ।
ब्लक गरिएका गीतहरू नखोलिए कानुनी उपचारमा जाने गौतमले चेतावनी दिइन ।
पत्रकार सम्मेलनमा उपस्थित भएका लोक गायकहरू बालकृष्ण कार्की, गायत्री लम्साल, रुद्र श्रेष्ठ, शशी गुरुङ लगायतले विभिन्न बहाना बनाएर म्युजिक नेपाल र अरुण उपत्यका सांस्कृतिक अनुसन्धान केन्द्रले स्रष्टाहरूलाई गर्ने ज्यादती गर्ने गरेको बताए ।