विराटनगर - असोज २२, २०६३ को दिन थियो । मोरङको एउटा घर । केवल साढे ७ महिनाको बच्चा अँगालोमा लिएर उनी छतको कुनामा अडेस लागेर उभिएकी छिन् । केही घण्टा अघि मात्र उनलाई फोन आएको थियो ‘तिम्रो श्रीमान् सडक दुर्घटनामा परेर मृत्यु भयो ।’ त्यही वर्ष जेठ महिनामा सासू क्यान्सरले गुज्रिसकेकी थिइन् । दुई–दुई स्तम्भ गुमाएपछि उनका वरिपरि अन्धकार मात्र फैलिएको थियो ।
उनी अर्थात् शोभा पालुङवा । प्रदेशसभाकी सक्रिय सदस्य हुन् । नेपाली काँग्रेसको सचेतक पनि हुन् । उनै शोभा पालुङवाको उस बेला लामो समय आँखामा निद्रा होइन, आँसुको नदी देखिन्थ्यो । आफूलाई सम्हाल्दिने कोही थिएन, मात्र एउटा ८ महिनाको बालक जसको भविष्य अब एक्लै उनको काँधमा थियो । उस बेला उनले जीवन रोकिएको महसुस गरेकी थिइन् । त्यस्तो घडीमा संसारसँग जुध्ने शक्ति कमैलाई मिल्छ । तर शोभालाई भने त्यो शक्ति आफ्नै पीडाभित्रै भेटियो ।
‘त्यो क्षणमा म भाँचिन सक्थेँ, टुक्रिन सक्थे’ उनी सम्झिन्छिन्, ‘तर सासू र श्रीमानको एउटै कुरा बारम्बार कानमा गुन्जिरह्यो ‘समाजमा बाँचेर समाजका लागि केही गर्नुपर्छ । त्यही कुराले जिन्दगीमा आइपरेका त्यस्ता कयौँ कठिन परिस्थितिमा पनि आफूलाई कमजोर बन्न दिएन । ’
बाल्यकालदेखि सपना
२०३१ साल कात्तिक १९ गते कैलालीको धनगढीमा जन्मिएकी शोभाको बाल्यकाल अनुशासन र मेहनतको मिश्रण थियो । उनका बुबा लोक बहादुर चेम्जोङ प्रहरी सेवामा थिए, जसका कारण घरमा नियमको कडाइ हुन्थ्यो । त्रिनगर माध्यमिक विद्यालयमा पढ्दा नै शोभाले पढे लखेकी महिला बन्ने र समाजमा योगदान गर्ने सपना देख्थिन् । यसै लक्ष्यले उनलाई नेपालगन्जको बहुमुखी क्याम्पससम्म पुर्यायो। अध्ययनसँगै उनले शिक्षण पेसा रोजिन् । ‘कक्षा कोठामा बालबालिकालाई पढाउँदा आत्मसन्तुष्टि मिल्थ्यो,’ उनी भन्छिन्, ‘तर जीवनको असली कक्षा कति कठिन हुन्छ भन्ने थाहै थिएन ।’ जुन कार्यले विवाह पछि भोगिन् ।
विवाह र नयाँ संसार
२०६१ साल फागुनमा मोरङका सनम पालुङवासँग विवाहपछि शोभा सुदूरपश्चिमबाट पूर्व सरिन् । नयाँ भाषा, नयाँ संस्कार र नयाँ समाजमा आफूलाई ढाल्दै गइन । श्रीमान्सँगको आत्मीयता, सासूको माया र भविष्यका योजनाले जीवन उज्यालो थियो । तर २०६३ सालको सुरुवातमै सासू राधा पालुङवाको निधन, त्यसको केही महिनापछि श्रीमानको सडक दुर्घटनामा मृत्यु भयो । यो दुई ठुला चोटले जीवनलाई पूर्ण रूपमा उल्टाइदियो । पीडाको घडीमा पनि शोभाले हार मानिनन् । ‘मैले मेरो बच्चाको भविष्य र श्रीमान्–सासूको अधुरो सपना देखेँ,’ उनी भन्छिन्, ‘त्यो सपना पुरा गर्नै पर्छ भन्ने दृढताले मलाई उभ्यायो ।’
श्रीमानको राजनीतिक यात्रा र सासूको समाजसेवाको भावनालाई प्रेरणाको श्रोत मान्दै २०६३ सालबाट भने उनी नेपाली काँग्रेसको सदस्य बन्दै राजनीतिमा प्रवेश गरिन् । सुरुमा सार्वजनिक मञ्चमा बोल्दा स्वर अड्किन्थ्यो, हात काँप्थ्यो । ‘पहिलो भाषणमा शब्द नै भेटिनँ,’ उनी हाँस्दै सम्झिन्छिन्, ‘तर पछि बुझेँ नेतृत्व भनेको बोल्ने मात्र होइन, सुन्ने पनि हो ।’
२०६४ सालको संविधानसभा निर्वाचनमा उनी समानुपातिक सूचिमा परिन्, तर अन्तिममा चयन भइनन् । यसले उनलाई निराश बनाएन झन् सक्रिय हुने प्रेरणा दियो । उनले सङ्गठन निर्माण, महिला समूह र सहकारी आन्दोलनमा आफूलाई पूर्ण रूपमा समर्पित गरिन् ।
महिला सशक्तीकरणको अभियान
‘महिला आत्मनिर्भर नभए समाज अघि बढ्दैन,’ उनी भन्छिन् । यही विश्वासका साथ उनले मोरङका गाउँघरमा महिलालाई साना उद्यम, बचत र लगानी सिकाइन् । नारी सङ्कल्प, बजरङवली सहकारी लगायतका संस्थामा उनको नेतृत्वले सयौँ महिलालाई आर्थिक रूपमा सशक्त बनायो । तर राजनीतिमा एकल महिला भएर टिक्न सजिलो थिएन । ‘कतिले भन्थे,‘महिला भएर के गर्ला र !’ तर त्यस्ता कुरा सुन्दा भित्र कुँडिन्थेँ, अनि लाग्थ्यो म गरेरै देखाउँछु, अझै धेरै गर्नुपर्छ ।’
२०७९ सालको प्रदेशसभा निर्वाचनमा पार्टीले मोरङबाट समानुपातिकतर्फ सूचीमा राख्दा शोभाको नाम अन्तिम सुचीमा प¥यो । उनी कोसी प्रदेशको प्रदेशसभा सदस्य बन्न सफल भइन् । आज शोभा पालुङवा प्रदेशसभाका सक्रिय सदस्य हुन् र नेपाली काँग्रेस संसदीय दलको सचेतक पनि हुन् । मोरङका गाउँ–गाउँमा उनी महिला उद्यमशीलता, सहकारी विस्तार, युवाको राजनीतिक सहभागिता र स्थानीय विकासका कार्यक्रम सञ्चालन पनि गरिरहेकी छिन् । उनको नेतृत्वले नारी सङ्कल्प र बजरङबली सहकारीमा सयौँ महिलालाई आर्थिक आत्मनिर्भर बनाएको छ ।
प्रदेशसभामा उनले मुख्य रूपमा महिला अधिकार, सहकारी सशक्तीकरण, घरेलु हिंसा न्यूनीकरण र शिक्षा सुधारका विषयमा आवाज बुलन्द पारिन् । समितिहरूमा सक्रिय रहँदै उनले बजेट निर्माणमा महिला–मैत्री कार्यक्रम समावेश गर्न पहल गरिन् । ‘राजनीतिमा मात्र होइन, नीतिमा पनि महिलाको उपस्थिति महत्त्वपूर्ण हुन्छ,’ उनी भन्छिन्, ‘त्यसैले मैले सम्भव भएसम्म महिला–हितका एजेन्डा अघि सार्ने गरेकी छु ।’
समानुपातिक प्रक्रियाबाट प्रदेश सभा सदस्य भएकी शोभा आगामी निर्वाचनमा प्रत्यक्ष उम्मेदवार भएर चुनाव लड्ने योजनामा छिन् । मधेस प्रदेशको बर्दिबासमा संसदमा प्रस्तुति र मिडिया फेस कसरी गर्ने तालिम लिएपछि राजनीतिक नेतृत्व र सार्वजनिक संवादमा अझ सशक्त हुने आँट पलाएको शोभाले बताइन् । ‘त्यो तालिमपछि मैले महसुस गरेँ, नेतृत्व केवल मञ्चमा बोल्ने मात्र होइन, आफ्नो दृष्टिकोण स्पष्ट राख्ने र समुदायसँग जोडिने कला पनि रहेछ ।’
अझै जारी सङ्घर्ष
आज शोभा पालुङवा मोरङको मात्रै होइन, धेरैका लागि प्रेरणाको स्रोत बनिसकेकी छिन् । व्यक्तिगत पीडालाई सामुदायिक शक्ति बनाउने उनको यात्रा अझै जारी छ । ‘जीवनसँगको मेरो जुद्ध अझै सकिएको छैन,’ उनी भन्छिन्, ‘तर एउटा कुरा बुझेँ—अँध्यारोमा बस्नुभन्दा बत्ती बाल्ने प्रयास गर्नु राम्रो हुन्छ ’