सुनसरी । सुनसरीको गढी गाउँपालिकाले विद्यार्थी भर्ना गर्न खोप कार्ड अनिवार्य गर्ने निर्णय गरेको छ ।

 विद्यालयमा अहिले नयाँ शैक्षिक सत्रका लागि भर्ना अभियान चलिरहेको छ । गाउँपालिकाको  कार्यालयले एक सूचना जारी गर्दै विद्यार्थी भर्ना गर्दा खोप कार्ड अनिवार्य पेश गर्ने निर्देशन दिएको छ । विद्यार्थी भर्ना गर्दा अभिभावकले अनिवार्य रुपमा खोप कार्ड पेश गर्नुपर्नेछ । खोप कार्ड नभएका बालबालिकाको विवरण सम्बन्धी स्वास्थ्य कार्यालयमा बुझाउन विद्यालयहरुलाई निर्देशन दिइएको छ । 


पालिका खोप समन्वय समितिका अध्यक्ष समेत रहेका पालिका अध्यक्ष आश नारायण चौधरीद्धारा जारी निर्देशन अनुसार  खोप ऐन, २०७२ को दफा ३३ अनुसार विद्यालयहरूले बालबालिका भर्ना गर्दा अभिभावक वा संरक्षकबाट खोप कार्ड माग गर्न सक्ने कानुनी प्रावधान रहेको छ। साथै, राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत समावेश भएका तर खोप नलिएका बालबालिकाको अभिलेख राखी सम्बन्धित स्वास्थ्य संस्थामा जानकारी पठाउने व्यवस्था समेत गरिएको छ।


उपलब्ध तथ्यांकले देखाएअनुसार नेपालमा जन्मेदेखि १५ महिनासम्मका बालबालिकामध्ये करिब ४ प्रतिशत ‘शून्य डोज’ अर्थात् कुनै पनि खोप नलिएका छन्। कोशी प्रदेशमा यो दर करिब ६ प्रतिशत रहेको छ भने गढी गाउँपालिकामा अत्यन्त न्यून अर्थात् करिब ०।००००२ प्रतिशत मात्र रहेको जनाइएको छ।


सबै बालबालिकाले निर्धारित समयभित्र पूर्ण खोप प्राप्त गरेको सुनिश्चित गर्न यो कदम चालिएको गाउँपालिकाले  जनाएको छ । विशेषगरी ५ वर्षमुनिका खोपबाट वञ्चित बालबालिकालाई छुट खोप सेवामा समेट्ने उद्देश्यले विद्यालय भर्ना प्रक्रियामा खोप कार्डलाई अनिवार्य कागजातका रूपमा समावेश गरिएको  गाउँपालिकाको भनाई छ ।


WhatsApp Image 2026-04-30 at 3.32.51 PM