सुनसरी । चार दिनको अवधिमा तीन जना कैदीको मृत्यु भएको सुनसरीको झुम्का कारागारमा विभिन्न तीन वटा रोगको प्रकोप फैलिएको पुष्टि भएको छ । कैदी बन्दीमा विभिन्न रोगको लक्षण देखिएपछि बुधवार कारागारमा स्वास्थ्य शिविर चलाइएको थियो ।
उक्त शिविरबाट ६३ जना कैदी बन्दीको नमुना सङ्कलन गरी परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो । प्रतिष्ठानको ल्याबबाट कैदीहरूमा स्क्रप टाइफस, डेंगु र इन्फ्लूएंजाको प्रकोप रहेको पुष्टि भएको जनस्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईँले जानकारी दिए । केही कैदीबन्दीहरुमा जापनिज इन्सेफ्लाइटिसको आशङ्का गरिए पनि त्यसको रिपोर्ट आउन बाँकी रहेको उनले जानकारी दिए ।
चिकित्सकका अनुसार स्क्रब टाइफस एक किसिमको सरुवा रोग हो ।
यो रोग लाग्ने किर्नाजस्तो देखिने किरा (माइट) को टोकाइबाट मानिसमा सर्दछ । यो रोग ओरेन्सिया सुसुगामुसी भन्ने जीवाणुबाट लाग्दछ ।
यो जीवाणु मुसाको शरीरमा पाइने माइट हुन्छ ।
सङ्क्रमित कीराले मानिसलाई टोकेमा यो रोग मानिसमा सर्छ । यो रोग सङ्क्रमित कीराको टोकाइबाट मानिसमा सर्ने विराट शिक्षण अस्पतालका चिकित्सक डा. देवराज घिमिरेले जानकारी दिए । स्क्रब टाइफस भएको व्यक्तिले उपचार गर्न ढिलाइ भए ज्यान जाने बढी खतरा हुने घिमिरेको भनाई छ । यस्तै, डेङ्गु लामखुट्टेको टोकाइबाट सर्ने सङ्क्रामक रोग हो ।
इन्फ्लूएंजा एक सङ्क्रामक भाइरल सङ्क्रमण हो, जसले श्वासप्रश्वासको रोग निम्त्याउँछ । सामान्यतया फ्लु भनेर चिनिने यो रोग माथिल्लो वा तल्लो श्वासप्रश्वास मार्गमा फैलिएर घाँटी, फोक्सो र नाकमा आक्रमण गर्न सक्ने चिकित्सक घिमिरेले बताए ।
घिमिरेले भने– इन्फ्लूएंजा भाइरस सङ्क्रमित व्यक्तिले हाच्छ्युँ गर्दा, कुरा गर्दा वा खोक्दा हावाको माध्यमबाट भाइरस सर्छ ।
कारागार प्रशासन तथा स्वास्थ्य परीक्षणका खटिएका चिकित्सकले भाइरल ज्वरोको आशङ्का गरे पनि यी तीन वटा रोगको प्रकोप फैलिएको पुष्टि भएपछि अब त्यही अनुसार परीक्षण तथा उपचार व्यवस्था मिलाइने झुम्का कारागारका जेलर सुवासकुमार लामिछानेले जानकारी दिए ।
चार दिनको अवधिमै तीन जना कैदीको मृत्यु हुनुका साथै ३ सय बढी कैदी बिरामी भएपछि कारागारमा त्रास फैलिएको थियो ।
अहिले पनि केही कैदी बन्दी विभिन्न अस्पतालमा उपचारत छन् ।
१६ सय क्षमता रहेको झुम्का कारागारमा ए र बी गरी दुवै ब्लकमा १ हजार ७ सय ९८ जना कैदी बन्दी छन् ।