इटहरी । आदिवासी समुदायको हराउँदै गएका थान र थान जोडिएको संस्कार संस्कृतिको संरक्षणमा राज्यले ध्यान दिनुपर्ने वक्ताहरूले जोड दिएका छन् ।
ग्रामथान संरक्षण समिति कोशीको प्रथम वार्षिक साधारण सभामा बोल्ने अधिकांश वक्ताहरूले आदिवासी समुदायले सांस्कृतिक कर्म गर्ने थान र सो सँग जोडिएको संस्कार,संस्कृतिको संरक्षण गर्नुपर्ने बताएका हुन ।
आदिवासीहरूको धार्मिक आस्थाको धरोहरको रूपमा रहेको थानहरू लोप हुने अवस्थामा पुगेकोमा उनीहरूले चिन्ता व्यक्त गरेका छन् ।
यी यस्ता सम्पदाहरूलाई जोगाउन राज्यले ऐन तथा कानुन बनाएर संरक्षण गर्नुपर्ने उनीहरूले माग गरेका छन् ।
ग्रामथान संरक्षण समितिको वार्षिक साधारण सभामा पेस भएका विभिन्न प्रतिवेदनहरू सर्वसम्मत रूपमा पारित भएको अध्यक्ष तेजनारायण चौधरीले जानकारी दिए ।
सभाका अध्यक्ष चौधरीले संस्थाको साङ्गठनिक गतिविधि सहितको आगामी योजना प्रस्तुत गरेका थिए ।
यस्तै संस्थाका कोषाध्यक्ष नन्द कुमार चौधरीले संस्थाको आयव्यय सहितको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
दुवै प्रतिवेदन सर्वसम्मत रूपमा पारित भएको अध्यक्ष चौधरीले जानकारी दिए ।

संस्थाको विधान अनुसार सङ्गठन सञ्चालनका लागि विनियम २०८२ पनि आवश्यक सुझाव सहित पारित गरेको छ । संस्थाका सल्लाहकार तथा संरक्षक पदम अधिकारीले संस्थाको विनियम २०८२ सभामा पेस गरेका थिए ।
उक्त प्रस्तावमा सभाका उपस्थित सदस्यहरूले दिएका सझावहरुलाई समेटेर पारित गरिएको अध्यक्ष चौधरीले जानकारी दिए ।
ज्येष्ठ गहदार जितनलाल चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न साधारण सभामा अन्तर धार्मिक सञ्जालका रामभक्त कुरुवाङ,अधिकारकर्मी रमेश भट्टराई, विराट राजवंशी समाजका प्रदीप विश्वास लगायतले धारणा राखेका थिए ।