सुनसरी । सशस्त्र प्रहरी बलले सुनसरीमा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा सर्वसाधारणको घुंइचो लागेको छ । भारतीय सीमावर्ती क्षेत्रका स्थानीयलाई लक्षित गर्दै आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा ९ सय २९ जनाले सेवा लिएका छन् ।
सीमावर्ती क्षेत्रका बासिन्दाको लागि सशस्त्र प्रहरी बल बराह बाहिनी मुख्यालय पकली र ४ नम्बर गण सुनसरीको आयोजना तथा कोसी गाउँपालिकाको समन्वयमा शुक्रवार भएको शिविरमा सर्वसाधारणको घुंइचो लागेको थियो ।
पूर्व क्षेत्रीय सशस्त्र प्रहरी अस्पताल र नोबेल मेडिकल कलेज विराटनगरका विशेषज्ञ चिकित्सक सम्मिलित शिविरमा गरिब तथा विपन्न बर्गका मानिसहरूले भरपुर लाभ लिएको र उनीहरूलाई निःशुल्क औषधी तथा स्वास्थ्य परीक्षण गरी तत्काल रिपोर्ट उपलब्ध गराइएको सशस्त्र प्रहरी बल ४ नम्बर गणका प्रहरी उपरीक्षक निर्मल थापाले जानकारी दिए ।
शिविरमा सेवा लिन आउनेहरूलाई अधिकांश महिला तथा बालबालिका बढी रहेको थिए ।
बराह बाहिनीका बाहिनी पति सशस्त्र प्रहरी महानिरीक्षक कुमार न्यौपानेले उद्घाटन गरेको एक दिने निःशुल्क स्वास्थ्य शिविरमा जनरल फिजिसियनसँगै मुटु, छाला, पेट, मधुमेह, थाइराइड र हाड जोर्नी तथा मेरुदण्ड, शिशु तथा बाल रोग समवन्धि विशेषज्ञ सेवा दिइएको थियो ।
त्यसै गरी स्त्री तथा प्रसूति सेवा सम्बन्धी विशेषज्ञ सेवा र ल्याब तथा फार्मेसीको सेवा समेत शिविरमा उपलब्ध गराइएको थियो ।
स्वास्थ्यमा सीमावर्ती क्षेत्रका आम नागरिकको सहज पहुँचलाई पुर्याउनका लागि सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम अन्तर्गत शिविर सञ्चालन गरिएको महानिरीक्षक न्यौपानेले बताए ।
यस प्रकारको शिविर कोसी प्रदेशका अन्य सीमावर्ती स्थानीय तहहरूमा समेत सञ्चालन गरिने न्यौपानेको भनाई छ ।

















