सुनसरी । विभिन्न विद्याका उत्कृष्ठ व्यक्तिहरुलाई सम्मान गर्दै आएको कोशी एक्सिलेन्स अवार्ड आगामी फागुुन ७ गते हुने छ । यस पटक कोशी एक्सिलेंस अवार्ड–२०२६ मा थप तीन नयाँ विधा थप गर्दै तयारी सुरु गरिएको आयोजक संस्थाले जानकारी दिएको छ ।
यस वर्ष अटोमोबाइल, सङ्गीत र क्यापिटल मार्केट नामका गरी तीन नयाँ विधा थपिएको छ। यस अघि शिक्षा, स्वास्थ्य, सञ्चार, साहित्य, पर्यटन, कृषि, कर्पोरेट, बैंकिङ, खेलकुद, सामाजिक, स्टार्टअप, टेक्नोलोजी, इन्स्योरेन्स लगायत करिब दर्जनभन्दा बढी विधामा अवार्ड प्रदान गरिएको थियो।
अवार्डलाई थप विश्वासिलो, मर्यादित र राष्ट्रियस्तरको बनाउने उद्देश्यले उच्चस्तरीय निर्णायक समिति गठन गरिएको छ।
नेपाल राष्ट्र बैंकका पूर्व गर्भनर महाप्रसाद अधिकारीलाई प्रमुख सल्लाहकार र संविधानसभा सदस्य पवन शारडाको संयोजकत्वमा ४ सदस्यीय निर्णायक मण्डल गठन गरिएको नयन मिडिया फाउन्डेशनका अध्यक्ष पवन अधिकारीले जानकारी दिए । समितिले अवार्ड प्राप्तकर्ता छनोट प्रक्रियालाई तीव्र र पारदर्शी ढङ्गले अघि बढाइरहेको उनले जानकारी दिए ।
आयोजक संस्था परिवर्तन
कोशी एक्सिलेंस अवार्डको आयोजक संस्था यस पटक परिवर्तन गरिएको छ । नयन एड्भरटाइजिङ मिडिया प्रालिद्वारा सञ्चालित हुँदै आएको अवार्ड यस बर्षबाट भने नयन मिडिया फाउन्डेशनमार्फत कार्यक्रम आयोजना हुने फाउन्डेसनका अध्यक्ष पवन अधिकारीले जानकारी दिए ।
अवार्डलाई अझ परिष्कृत, प्रभावशाली र राष्ट्रियस्तरमै आकर्षक बनाउन आयोजक संस्थालाई थप व्यस्थित गरिएको उनले बताए । दीर्घकालिन उद्देश्य सहित फाउण्डेशन नै स्थापना गरी थप व्यवस्थापन गर्न खोजीएको उनले स्पष्ट पारे । अधिकारीका अनुसार कार्यक्रमको प्रस्तुति, व्यवस्थापन र सम्मान प्रक्रियामा समेत नवीनता ल्याइँदैछ ।
फाउण्डेशनले कोशी प्रदेशमा जन्मिएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने व्यक्तित्वलाई सम्मानित गर्दै आएको छ।
अवार्ड कार्यक्रम एक राष्ट्रिय टेलिभिजन र कोशी प्रदेशका तीन टेलिभिजनसहित विभिन्न अनलाइन पोर्टलमार्फत एकैसाथ प्रत्यक्ष प्रसारण गरिने आयोजकले जनाएको छ।

















