इटहरी । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा वकालत गर्न सुनसरीमा फ्रि मिडिया नेटवर्क गठन भएको छ । नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष सन्तोष काफ्लेको नेतृत्वमा नागरिक अगुवा तथा सामाजिक क्षेत्रका विज्ञ सहितको समिति गठन गरिएको हो ।
सुनसरीमा २०७२ सालदेखि सुरु भएको फ्रि मिडिया नेटवर्कको काम प्रभावकारी बन्दै आएको छ । नेपाल पत्रकार महासंघमा नयाँ नेतृत्व आएपछि यो समितिलाई पुनर्गठन गरिएको हो ।
बिहीबार इटहरीमा एक विशेष कार्यक्रमका बिच विभिन्न संस्थाका प्रतिनिधिहरू सहितको समिति गठन भएको हो । जिल्ला प्रशासन, जनप्रतिनिधी,मानवअधिकारकर्मी, प्याब्सन, हिसान सनुसरी, उद्योग वाणिज्य संघ लगायतका प्रतिनिधिहरूको उपस्थितिमा भएको भेलाले व्यावसायिक पत्रकारिताको विकासमा कामगर्ने प्रतिबद्धता जनाएको छ ।
इन्टरनेशनल अलर्ट एसिया निर्देशक रविना श्रेष्ठ र सिनियर अफिसर प्रतिष्ठा थापाको उपस्थितिमा सम्पन्न भेलाले अध्यक्ष काफ्लेको संयोजकत्वमा १५ सदस्यीय समिति चयन गरेको छ ।
पदाधिकारी विहीन स्वतन्त्र रहने यो फोरममा हरिनगर गाउँपालिका अध्यक्ष गफार अन्सारी, इटहरी उपमहानगरपालिकाकी उपमेयर सङ्गीता कुमारी चौधरी र नेपाल पत्रकार महासंघ सुनसरीका पूर्व अध्यक्षहरू अमर खड्का र जनकऋषी राई सदस्य छन् ।
यस्तै अन्य सदस्यहरूमा जिल्ला प्रहरी कार्यालयका प्रतिनिधिको रूपमा इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी नायव उपरीक्षक सुवास हमाल, नेपाल बार एसोसिएसन सुनसरीका उपाध्यक्ष बलराम राई, मानवअधिकारकर्मी रमेश भट्टराई, महिला अधिकारकर्मी विनीता दाहाल सदस्यको रूपमा रहेका छन् ।
अन्य सदस्यहरूमा जिल्ला प्रशासन कार्यालय सुनसरी, सुनसरी उद्योग वाणिज्य संघ उपाध्यक्ष राजेश अग्रवाल, नागरिक समाज इटहरीका राजु केसी, हिसान सुनसरी अध्यक्ष सागर भट्टराई, प्याब्सन सुनसरी उपाध्यक्ष गणेश भण्डारी र एनजिओ फेडेरेसन सुनसरीका सचिव रामसुन्दर मेहता छन् ।
कार्यक्रममा सहभागी सबैले व्यवसायीक पत्रकारिताको विकास र प्रेस स्वतन्त्रताको पक्षमा आपसी सहकार्य गरेर अगाडी बढ्ने प्रतिबद्धता जनाएका छन् ।

















