विराटनगर । नेपाल–भारत सीमा क्षेत्रमा मानव बेचबिखन तथा शोषणका चुनौतीहरूबारे छलफल गर्दै सहकार्य सुदृढ गर्ने उद्देश्यले विराटनगरमा बिहीबारदेखि अन्तरदेशीय कार्यशाला शुरू भएको छ। `मानव बेचबिखन नियन्त्रणका लागि प्रतिकार्य सुदृढीकरण´ विषयक उक्त कार्यशाला शुक्रबार समापन हुने भएको छ।

विराटनगरस्थित रत्ना होटलमा भइरहेको कार्यशाला नेपाल सरकार, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आयोजनामा माइती नेपाल र अन्तर्राष्ट्रिय संस्था वर्ड इन डाडको सहकार्यमा शुरू भएको हाे । कार्यक्रममा नेपाल र भारतका सरकारी निकाय, सुरक्षा निकाय, स्थानीय तह तथा नागरिक समाज संस्थाका प्रतिनिधिहरू सहभागी छन्।received_2655954894778228

बिहीबार भएको उद्घाटन सत्रमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री  श्रद्धा श्रेष्ठले मानव बेचबिखन सीमा नमान्ने गम्भीर अपराध भएकाले यसविरुद्ध दुवै देशबीच मजबुत सहकार्य आवश्यक रहेको बताइन्।  मन्त्रालयले तत्काल उद्दार र संरक्षणमा काम गर्ने प्रतिवद्वता जनाइन् । उनले तत्काल कार्यविधि बनाउने र त्यसलाई कार्यान्वयनमा लग्ने उनको भनाइ थियाे । मन्त्रालयकी सचिव लक्ष्मी कुमारी बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला विशेष अतिथि थिए। माइती नेपालकी संस्थापक अध्यक्ष अनुराधा कोइरालासहित नेपाल र भारत सरकारका प्रतिनिधिहरूले सीमा क्षेत्रमा देखिएका चुनौती र अनुभवहरूका बारेमा छलफल गर्ने छ।

दुइदिने कार्यशालामा नेपाल–भारत सीमा क्षेत्रमा बालबालिका तथा महिलामाथि हुने बेचबिखनका पछिल्ला प्रवृत्ति, उद्धार तथा पुनःस्थापनामा देखिएका समस्या, कानुनी तथा कार्यगत समन्वय, सूचना आदान–प्रदान, प्रविधिको प्रयोग, संयुक्त कार्यदल गठन र नियमित द्विपक्षीय संवादका विषयमा छलफल  हुनेछ।

शुक्रबार हुने सत्रहरूमा पीडित–केन्द्रित उद्धार र पुनःस्थापना, भारतमा रहेका नेपाली पीडितको संरक्षण, सीमा क्षेत्रमा रोकथामका उपाय, द्विपक्षीय समझदारी, कानुनी सहयोग तथा संयुक्त तालिम कार्यक्रमका विषयमा खुला छलफल तथा समूहगत कार्य हुने आयोजकले जनाएको छ। समूह छलफलबाट आएका सुझावहरू समेट्दै छोटो तथा दीर्घकालीन संयुक्त कार्ययोजना तयार गरी कार्यशालाको औपचारिक समापन गरिने मन्त्रालयका सहसचिव आभा श्रेष्ठले जानकारी दिइन् ।

दिल्ली प्रहरीका डा. राकेश कुमारले मानव बेच विखन तथा ओसारपसार नियन्त्रणमा याे कार्यक्रम निकै प्रभावकारी भएको बताए । 

माइती नेपालका संस्थापक अनुराधा काेइरालाले विराटनगरमा भएको याे खालकाे कार्यक्रम मानव वेचविखन विरूद्वकाे ऐतिहासिक भएको बताइन् ।  माइती नेपालले ३० बर्षदेखि मानव बेचविखन विरूद्व काम गर्दै आएको  जानकारी  दिँदै अहिले पनि किशोरीहरू विभिन्न कारणबाट बेच विखनमा पर्ने गरेकाे बताइन् ।

विराटनगर महानगर महानगरपालिकाका मेयर नागेश काेइरालाले मानव बेचविखनका बिषय विराटनगर, नेपालकाे मात्रै समस्या नभइ भारत, श्रीलंका, भुटान, बंगलादेश लगायत विश्वका धेरै देशकाे समस्या रहेकाे आफुले बुझेको बताए ।

कार्यशालाले नेपाल–भारतबीच मानव बेचबिखनविरुद्ध आपसी विश्वास, समन्वय र सहकार्यलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।  भारतका बंगालर विहार, दिल्ली, उत्तर प्रदेश सुरक्षा अधिकारी, मानव बेचबिखन विरूद्वकाे अभियानमा काम गर्ने संस्था तथा  भारत र नेपाल सरकारका सचिव, सह सचिव, संघ र प्रदेशका अधिकारीहरू सहभागी छन् ।