सुनसरी । सुनसरीको इटहरीमा छोरी भेट्न आएकी सासुको ज्वाइँले हत्या गरेका छन् ।
इटहरी उपमहानगरपालिका–९ स्थित बिपी चोकमा छोरी भेट्न आएकी ५६ वर्षीय पविमाया बयलकोटीको आफ्नै ज्वाइँ गणेश शाह गुप्ताले गयराती हत्या गरेका हुन ।
भोजपुरको दिङ्ला–१ घर भई उपचारको लागि आएका बयलकोटी दम्पती आइतबार साँझ छोरी भेट्न इटहरी स्थित ज्वाइँकोमा पुगेका थिए ।
बयलकोटी दम्पती आज बिहान घर भोजपुर फर्किन लागेका थिए ।
घर फर्कनु एक दिन अघि छोरी भेट्न पुगेका बयलकोटी दम्पतीले दिनहुँ मादक पदार्थ सेवन गर्दै आएका गणेशलाई बानी ब्यहोरा सुधार गर्न आग्रह गरेका थिए । सासु पविमायाले आइन्दा यस्तै बानी ब्यहोरा दोहोर्याए छोरी लैजाने बताएपछि आक्रोशित बनेका गणेशले पानी तान्ने कलको डन्डी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते भएकी पविमायाको उपचारको लागि विराटनगरस्थित विराट अस्पताल लैजानेक्रममा बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए ।
घटनापछि फरार रहेको गणेशलाई आज बिहान पक्राउ गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक हमालले जानकारी दिए ।

















