सुनसरी । जेनजी आन्दोलनमा ध्वस्त बनेको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयलाई जनस्तरबाट बनाइएको भवन हस्तान्तरण गरिएको छ ।

कोसी प्रदेशको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन हेर्ने उक्त कार्यालय परिसरमा जनस्तरबाट निर्माण सम्पन्न भएको चारकोठे भवन शनिबार ट्राफिक प्रहरीलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको हो ।

कार्यालय परिसरमै आयोजित कार्यक्रममा इटहरी उप–महानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलको प्रमुख आतिथ्यतामा भवन पुनःनिर्माण उपभोक्ता समितिका अध्यक्ष जीवन पराजुली लगायतको टोलीले उक्त भवन निर्माण सम्पन्न गरी हस्तान्तरण गरिएको हो ।

इटहरी उप–महानगरपालिकाको प्राविधिक तथा आर्थिक सहयोगमा निर्माण गरिएको उक्त भवन नागरिक समाज, उद्योग वाणिज्य संघलगायत विभिन्न संघ–संस्था तथा व्यक्तिको पहलमा सम्पन्न भएको हो ।

२८ लाख रुपैयाँ लागतमा बनेको उक्त भवनका लागि उपमहानगरले २० लाख, इटहरी खानेपानी उपभोक्ता संस्थाबाट ५ लाखसहित इटहरीका विभिन्न संघसंस्था र व्यक्तिहरूले सहयोग गरेको उपभोक्ता समितिले जनाएको छ ।

एकतले उक्त भवनमा एउटा ब्यारेक हल र तीनवटा कार्यालय कोठा रहेका छन् ।

कार्यक्रममा भवन निर्माणमा सहयोग पुर्‍याउने दाताहरूलाई सम्मानसमेत गरिएको थियो । भवन हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख पौडेलले ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यले भवन निर्माण गरी ट्राफिक प्रहरीलाई हस्तान्तरण गरिएको बताए ।

उनले पूर्वाधार विकासका क्षेत्रमा इटहरी उप–महानगरपालिका निरन्तर सहयोग गर्न प्रतिबद्ध रहेको पनि उल्लेख गरे ।

कार्यक्रममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख प्रहरी उपरीक्षक दीपक गिरीले नवनिर्मित भवनले ट्राफिक प्रहरीको कार्यसम्पादनलाई थप सहज र प्रभावकारी बनाउने विश्वास व्यक्त गरे ।

जनस्तरबाट स्वतस्फूर्त रूपमा बनाइएको भवनको प्रयोगले सेवाग्राहीलाई अझ छिटोछरितो सेवा प्रदान गर्न मद्दत पुग्ने गिरीको भनाइ थियो ।