सुनसरी । इटहरीमा जारी तेस्रो अन्तर कलेज टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबार भएका दुई खेलमा सुस्मा गोदावरी र कान्तिपुर कलेज विराटनगरले विजयी सुरुवात गरेका छन् ।
आइतबार सम्पन्न पहिलो खेलमा सुस्मा गोदावरी कलेजले कस्तुरी कलेजलाई ६१ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।
टस हारेर पहिले ब्याटिङ गरेका सुस्मा गोदावरीले खराब मौसमका कारण ११ ओभरमा छोटाइएको खेलमा २ विकेट गुमाउँदै १ सय ३९ रनको उच्च योगफल बनाएको थियो ।
सुस्माका लागि कृष्ण सिवाकोटीले ३२ बलमा ४७ र अनिल बस्नेतले २२ बलमा ४३ रनको अबिभिजत पारी खेले ।
अदित खड्काले १५ रनको योगदान दिए । बलिङतर्फ कस्तुरीका बलर यसवन्त मेहता र अर्पण अधिकारीले समान १–१ विकेट लिए ।
जवाफमा १ सय ४० रनको लक्ष्य पछ्याएको कस्तुरी कलेज निर्धारित ओभरमा ७ विकेट गुमाउँदै ७८ रनमा समेटियो । कस्तुरीका लागि यसवन्त मेहताले २३ रन बनाउँदा अमन मिश्राले १५ तथा सिद्धार्थ यादव र प्रमुल बस्नेतले समान १०–१० रन बटुले ।
बलिङतर्फ सुस्मा गोदावरीका स्वर्णिम कँडेल, जेम्स सेन्चुरी र सागर डोटेलले समान २–२ विकेट हात पारे ।
उक्त खेलको प्लेयरअफद म्याच सुस्मा गोदावरीका कृष्ण सिवाकोटी घोषित भए ।
आइतबारै सम्पन्न दोस्रो खेलमा विराटनगरको कान्तिपुर कलेजले इटहरीको जनता उच्च माध्यमिक विद्यालयलाई २५ रनले पराजित गरेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको कान्तिपुरले १६ ओभरमा छोटाइएको खेलमा सबै विकेट गुमाउँदै १ सय १८ रन बनाएको थियो ।
कान्तिपुरका लागि निश्चल गुप्ताले सर्वाधिक ४९ रन बनाउँदा मनु दासले २० र जयप्रकाश यादवले १९ रन बनाए ।
बलिङतर्फ जनताका एसान खानले ४ विकेट लिँदा अंकित दासले ३ र उत्सव आचार्यले २ विकेट हात पारे । 
जवाफमा १ सय १९ रनको विजयी लक्ष्य पछ्याउने क्रममा जनता उच्च माविले निर्धारित १६ ओभरमा ९४ रन मात्र बनाउन सक्यो ।
जनताको तर्फबाट अंकित दासले २७, प्रशान्त नेपालले १९ र उत्सव आचार्यले १३ रन बनाए पनि त्यो जीतका लागि पर्याप्त हुन सकेन ।
कान्तिपुरका बलर खेमराज हमालले २ तथा अर्बिन मण्डल, सन्तोष गुप्ता र रामरतन यादवले समान १–१ विकेट लिए । खेलको प्लेयरअफद म्याच कान्तिपुरका निश्चल गुप्ता भए ।
पुस २६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा कोसी प्रदेशका झापा, मोरङ र सुनसरीका १२ कलेजका टोलीहरूको सहभागिता रहेको छ ।
१२ टिमलाई चार समूहमा विभाजन गरिएको छ । प्रत्येक टिमबाट उत्कृष्ट एक टोली सेमिफाइनल प्रवेश गर्नेछ ।